काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धीको विवादलाई टुंग्याएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधानतर्फ पुर्याएका हुन् ।
कांग्रेस केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउने जिम्मेवारी सिटौला, रिजाल र लेखकलाई दिएको थियो ।
भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले शनिबार बेलुकी विवाद टुंग्याएर आइतबार सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी छ ।
केन्द्रीय सदस्य लेखकले क्रियाशीलसम्बन्धी विवाद अब टुंगिएको बताए । ‘विवाद टुंगिएका छन्। आज अपरान्ह ५ बजेतिर सभापति देउवालाई प्रतिवेदन बुझाउँछौं,’ उनले भने।
बारा, सप्तरीलगायत छ जिल्लामा क्रियाशील सदस्यता विवाद थियो। समग्रमा एक सय वडामा क्रियाशील सदस्यताका विवाद थिए। नेताहरूकै तवरबाट क्रियाशीलको विवाद टुंग्याइएकोले अब समस्या नदेखिने लेखकको भनाई छ ।