काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कसैलाई पनि विभाजन पक्षमा नजान आह्वान गरेका छन् । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलपछि प्रतिक्रिया दिँदै उनले माधव कुमार नेपालसहितका नेताहरूलाई पार्टीमा फर्कन अह्वान गरेका हुन् ।
नेता नेपाल नयाँ पार्टी दर्ता गर्न अलिक हतारिएको नेता भट्टराईको टिप्पणी छ । उनले भने, ‘उहाँ (माधवकुमार नेपाल) पार्टी दर्ताको प्रक्रियामा जानुभयाे, केन्द्रीय कमिटीका धेरै साथीहरुलाई पनि जनकारी भएन, स्थायी कमिटीका साथीहरुको बीचमा छलफल भएन, उहाँ हतारिनु भएको छ । त्यसैले उहाँलाईसमेत एकतामा फर्कनुपर्छ ।’
उत्तेजनामा नआइकन धैर्यधारण गर्दै पार्टी एकताको ऐतिहासिक प्रक्रियामा सामेल हुन उनको आग्रह छ । ‘देशभरका नेकपा एमालेका सम्पूर्ण कमरेडहरुलाई, हामी कोही पनि विभाजनको पक्षमा नजाऔं। एकताको पक्षमै कायम होऊँ,’ भट्टराईले भने, ‘सबै कमरेडहरुलाई धैर्यताका साथ धेरै उत्तेजनामा नआइकन, आवेगमा नआइकन धैर्यधारण पार्टी एकताको ऐतिहासक प्रक्रियामा सामेल हुन म तपाईंहरुमार्फत अपिल गर्छु ।’
उनले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किने बताए । त्यो कसरी हुने भन्नेबारे भोलि (मंगलबार) बस्ने बैठकबाट टुंग्याउने बताए । उनले पार्टीभित्र कसैलाई पनि पक्षपात नहुने र सबैकाृे पुराना जिम्मेवारीहरु कायम हुने पनि बताए । उनले भने, ‘हाम्रा पुराना जिम्मेवारीहरु कायम हुनेछन्। र पार्टीभित्र कसैमाथि पनि पक्षपात हुँदैन। कसैमाथि पनि अन्यायपूर्ण व्यवहार हुँदैन भन्ने कुराको सुनिश्चितता पार्टी स्थायी कमिटीले गर्छ ।’
असार २७ गते भएको १० बुँदे सहमतिको कार्यान्वयनको सन्दर्भमा मंगलबारको बैठकले योजना तयार गर्ने उनको भनाइ छ ।।