Logo
Logo

देउवा र पौडेलबीच क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन छलफल सुरु


2k
Shares

काठमाडाैं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन नेतृत्वलाई निकै हम्मे परिरहेको छ । महाधिवेशनको संघारमा सदस्यता विवाद नै नटुङ्गिएकाले अन्य काम हुन पाएको छैन ।

दिनहुँ पार्टी कार्यालयमा धर्ना र विरोध प्रदर्शन भइरहेको छ भने यसलाई छिटो टुङ्ग्याउनु पर्ने भन्दै नेताहरूले नै नेतृत्वलाई दबाब दिइरहेका छन् ।

यही विषय टङ्ग्याउन कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल सुरु भएको छ । पार्टी सभापति देउवाको निजी निवासमा भइरहेको छलफलमा विवाद अन्त्य गर्दै सहमतिमा अघि बढ्ने तयारी गरिएको छ ।

नेताद्वयबीच छलफल सकिएलगत्तै क्रियाशिल सदस्यता विवाद सम्बन्धी उच्चस्तरीय छानविन समितिको प्रतिवेदनलाई टुङ्ग्याउने तयारी छ ।

हाल क्रियाशील सदस्यताका विषयमा बारा र सप्तरीमा जिल्लाभर विवाद छ। यस्तै धनुषा–४ सर्लाही–२, रसुवा र सिन्धुपाल्चोकका केही स्थानका सदस्यताका विषयमा पनि विवाद कायम छ । यी सबै नयाँ सदस्यतामा देखिएका विवाद हुन् ।

नयाँ सदस्यताका विषयमा विवाद हुँदा काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले यसअघि नै देशभरका १२१ वटा वडाको नयाँ सदस्यता स्थगित गर्न पार्टी पदाधिकारीसहित शीर्ष नेतृत्वलाई सदस्यता सम्बन्धी प्रतिवेदन बुझाएको थियो ।

हाल वडाबाट पठाइएका सदस्यतामा एउटा नामावली र केन्द्रबाट पास भएको नामावली केही स्थानमा फरक देखिएपछि विवाद झनै बढ्नेतर्फ अघि बढेको छ । यी सदस्यताका विषयमा वडाबाट आएको सदस्यता सङ्ख्या उही भए पनि नाम भने फरक पाइएको छ ।

क्रियाशील सदस्यताका विषयमा देखिएका बाँकी विवाद समाधानका लागि नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रमेश लेखक र डा. मिनेन्द्र रिजाललाई जिम्मा दिइएको थियो। तर सोमबार मध्यान्नसम्म पनि विवादित सदस्यताका विषयमा सहमति जुट्न सकेको छैन ।

महाधिवेशन समयमा नगरेको, तोकिएको समयमा पनि महाधिवेशन गर्ने वातावरण पार्टी नेतृत्वले नबनाएको र सदस्यता विवाद समाधान गर्न नेतृत्व असफल भएको भन्दै जिल्ला सभापतिहरूले मंगलबार पार्टी कार्यालय सानेपामा धर्ना दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्