काठमाडौं । नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास (एलपी) तथा हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ ।
२ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य ११३ रुपैयाँ कायम भएको छ।
यस्तै, खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाइएको छ । अब एक सिलिण्डर ग्यासको मूल्य १४ सय ५० पर्नेछ ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।
इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ । गत असार ३० गते पनि निगमले मूल्य बढाएको थियो ।
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एलपी ग्याँसमा प्रति सिलिण्डर ४२०.७५ रुपैयाँ घाटा रहने निगमले बताएको छ ।