काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्रीसँग खुसी भएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई भेटेर सरकारलाई आफ्नो सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लोसपाका नेताहरू सरकारमा जान पनि इच्छुक देखिएका छन् । यद्यपि सोमबार भएको प्रधानमन्त्रीसँगको भेटमा सरकारमा जानेबारेमा ठोस छलफल नभएको लोसपाका नेताहरूले जनाएका छन् ।
टीकापुर घटना भएको संस्मरणमा आफूहरूले प्रधानमन्त्रीलाई भेटेको भेटमा सहभागी शरत्सिंह भण्डारीले भने । ‘आजकै दिनमा टीकापुर घटना भएको थियो । सो घटनाको आरोपमा अहिले पनि रेशम जेलमा छन्,’ भण्डारीले भने, ‘सबैले रेशम चौधरी निर्दोष छन् भन्ने तर रिहाइ गर्दैनन् ।
यसैबारेमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई भेटेका हौं ।’ चौधरीको रिहाइको विषयमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको भेटमा सहभागी अर्का नेता उमाशंकर अरगरैयाले भने । ‘यो विषय अहिले अदालतको प्रक्रियामा छ ।
अदालतको निर्णय हेरौँ। त्यसपछि के पर्छ वा मन्त्रिपरिषद्बाट माफी दिने हो कि यसबारेमा छलफल गरौंला भनी प्रधानमन्त्रीज्यूले भन्नुभयो,’ अरगरैयाले भने ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।