Logo
Logo

दशैंअघि नै १२ कक्षाको परीक्षा


0
Shares

काठमाडौैं । कक्षा १२ को परीक्षा सबै विद्यार्थीले खोप लगाएलगत्तै शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा दिने विद्यार्थीलाई खोप लगाएलगत्तै १५ दिनअघि सूचना प्रकाशित गरी परीक्षा सञ्चालन गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘सायद दशैंअघि नै परीक्षा लिने तयारी गरेका छौं ।’

उहाँले अहिले सबै जिल्लामा परिपत्र गरेर कक्षा १२ को परीक्षा दिने विद्यार्थी पहिचान गरी खोप लगाउने व्यवस्था भइरहेको जानकारी पनि दिनुभयो । सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई प्रवेशपत्रको आधारमा खोप लगाउने निर्णय गरेर चार दिन अघिदेखि विभिन्न खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरेको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा स्थगित गरेकोमा आपत्ति जनाई सबै परीक्षार्थीलाई खोपको व्यवस्था गरी तत्काल परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । करिब एक साता अघि बसेको बैठकमा कोरम नपुगे पनि अधिकांश सांसदले परीक्षा स्थगित गर्न नहुने धारणा राखेका थिए ।

त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का परीक्षार्थीलाई खोप लगाउने निर्णय गरेको थियो । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप लगाएपछि परीक्षा शुरु गर्ने गरी सरकार अघि बढेको जानकारी दिँदै भन्नुभयो– ‘अब कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को बैठक बसेर परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय गर्ला ।’, यो समाचार नेपाल समाचारपत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्