काठमाडौं । नेकपा माओवादी केन्द्रले जिम्मेवारी बाँडफाँट गरेको छ । प्रदेश इञ्चार्ज, सह इञ्चार्ज, अध्यक्ष तथा जिल्ला इञ्चार्ज र विभिन्न विभागको नेतृत्वको रुपमा माओवादीले जिम्मेवारी बाँडफाँट गरेको हो । स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैले राखेका छन् भने जनार्दन शर्माले संगठन विभाग प्रमुखको रुपमा महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।
पार्टी प्रवक्ताको रुपमा पूर्व सभामुख कृष्णबहादुर महराले जिम्मेवारी पाएका छन् । महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइइएको छ ।
कुन प्रदेश र विभागको इञ्चार्ज को ?
प्रदेश १ मा राम कार्की (पार्थ)ले इञ्चार्जको जिम्मेवारी पाएका छन् भने प्रदेश २ मा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टले इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
वर्षमान पुनले अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्जको जिम्मेवारी पाएका छन् भने मातृका यादव उपभोक्ता हित तथा आपूर्ति विभाग, हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभाग, देव गुरुङ संघीय संसदीय विभाग प्रमुख र लिलामणि पोखरेलले जलस्रोत सिंचाइ तथा ऊर्जा विभागको प्रमुख भएका छन् ।
युवा तथा खेलकुद विभाग प्रमुख गणेशमान पुन, राजकीय मामला तथा सुशासन विभाग प्रमुख रेखा शर्मा र खानेपानी तथा सरसफाइ विभाग प्रमुखको रुपमा विना मगरले जिम्मेवारी पाएका छन् ।
लिलामणि पोखरेलले विशेष समिति इञ्चार्ज, डिलाराम आचार्यले सम्पर्क समन्वय समिति इञ्चार्ज र नारायणकाजी श्रेष्ठले प्रवास समिति इञ्चार्जको रुम्पमा जिम्मेवारी पाएका छन् ।