२०७८ भदौ ९ गते नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको छ । पार्टी विभाजनबाट सबैभन्दा बढी खुशी केपी शर्मा ओली भएका छन् भने, सबैभन्दा दुःखी माधवकुमार नेपाल ।
पुष्पलालले स्थापना गरेको यस पार्टीलाई को-अर्डिनेशन कमिटी, नेकपा माले हुँदै नेकपा एमाले बनाउन नेता नेपालले आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका छन् । माओवादीको १० वर्षे जनयुद्ध, ज्ञानेन्द्रको निरंकुश शासन, २०५४ मा वामदेवको विद्रोह, जननेता मदन भण्डारीको दासढुंगामा हत्या भएको कष्टकर समयदेखि नेता नेपालले महासचिवको हैसियतमा एमाले पार्टी जोगाएर यहाँसम्म ल्याएको कुरा इतिहास साक्षी छ ।
पार्टीलाई विचार, विधि र पद्दतिसम्मत ढंगबाट अगाडि बढाउनुपर्ने अडान लिँदै आएका नेता नेपाल स्वच्छ छवि, सादा जीवन उच्च विचारका धनी मानिन्छन् । नेपालले पार्टीभित्रको अन्तरद्वन्द्व समाधान गर्न हदैसम्मको प्रयास गरेका थिए । तर, ओलीको दम्भका कारण नेता नेपाल आफैँले जन्माएर, हुर्काएको र अगाडि बढाएको पार्टीमा अटाउन सकेनन् ।
सर्वाेच्च अदालतको फैसलालले संसद पुर्नस्थापना गरेदेखि सर्वाेच्चकै फैसलाले नेकपा एकता भंग गरेका दिनसम्म पार्टीलाई एक ढिक्का बनाउन नेता नेपालले गरेको प्रयास असफल भएपछि नेता नेपाल बाध्य भएर नेकपा एकीकृत समाजवादी स्थापना गर्नुपरेको हो ।
अहिले नेकपा एमालेका अध्यक्ष ओली २०७५ जेठ २ गते फर्कन तयार भएकाले एमाले जोगियो भनेर मध्यमार्गी धार ‘झमझम स्टकोट…’ शैलीमा ओलीको काखमा ओथारो बस्न पुगेको छ । यस्तो ओथारोले चल्ला जन्मिदैन, अण्डा कुहिन्छ । त्यसैले जेठ २ गते फर्कनुको कुनै अर्थ छैन । ढिलो चाँडो मध्यमार्गी धारले यो कुरा बुझ्ने छन् । तर, त्यतिबेलासम्म मध्यमार्गी धारले टेक्ने जमिन पाउने छैनन् ।
नेकपा एमालेका देशभरका लाखौँ ईमान्दार कार्यकर्ता नेता नेपालको पक्षमा उभिएका छन् । पार्टी सुदृढिकरण गर्न र नेकपा एमालेलाई एकताबद्ध ढंगबाट अगाडि बढाउन नेता नेपालले चैत ४ र ५ गते सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा पहिलो पुस्तादेखि तेस्रो पुस्तासम्मका जतिपनि अनुहार त्यहाँ भेला भएका थिए, तिनै अनुहार नेकपा एमालेको जग हो । तिनै कार्यकर्ताको अनुहार हेरेर गत आम निर्वाचनमा नेकपा एमालेलाई ३१ लाख ७३ हजार ४ सय ९४ मत दिएका हुन् ।
आज ती लाखौँ कार्यकर्ता र मतदाताको भावनामा चोट लागेको छ । एमालेलाई दिएको मत दुरुपयोग भएको छ । भोलिको निर्वाचनमा कुन मुख लिएर भोट माग्न जनताको घरदैलो जाने भन्ने चिन्ता छ । केन्द्रदेखि जिल्ला हुँदै गाउँ कमिटीसम्म कार्यकर्ता विभाजित अवस्थामा छन् । यो सब परिस्थिति ओलीले पुस ५ गते संसद् भंग गरेर निम्त्याएका हुन् ।
नेकपा एमालेभित्र यस्तो अवस्था कसले ल्यायो भन्ने कुरा पनि कार्यकर्ताले मुल्याँकन गर्नुपर्छ । दुईतिर मादल ठोकेर नाच्ने बेला यो होइन । यो बेला कठोर भएर पार्टीलाई घर न घाटको अवस्थामा पुर्याउनेहरूलाई दण्ड सजाय दिने बेला पनि हो । त्यसो भयो भने मात्र कम्युनिष्ट पार्टी कम्युनिष्ट आचरण र विचारमा चल्छ ।
अहिले नेकपा एमालेका अध्यक्ष ओली २०७५ जेठ २ गते फर्कन तयार भएकाले एमाले जोगियो भनेर मध्यमार्गी धार ‘झमझम स्टकोट…’ शैलीमा ओलीको काखमा ओथारो बस्न पुगेको छ । यस्तो ओथारोले चल्ला जन्मिदैन, अण्डा कुहिन्छ । त्यसैले जेठ २ गते फर्कनुको कुनै अर्थ छैन । ढिलो चाँडो मध्यमार्गी धारले यो कुरा बुझ्ने छन् । तर, त्यतिबेलासम्म मध्यमार्गी धारले टेक्ने जमिन पाउने छैनन् ।
तीन पटकसम्मको ओली–नेपाल भेटमा नेता नेपालले ओलीलाई २०७५ जेठ २ गते फर्कन चैत २ गते नै आग्रह गरेका थिए । त्यतिबेला नेता नेपालको कुरा मानेको भए आज यो स्थिति पक्कै आउने थिएन । तर, दुर्भाग्य ओली जेठ २ गते फर्कन तयार भएनन् । उल्टै वैशाख ८ गते मेरियट होटलमा भएको भेटमा ओलीले भने, ‘माधव कमरेड पार्टी धेरै अगाडि बढिसक्यो, तपाईले कुन सालको जेठ २ को कुरा गर्दै हुनुहुन्छ ? त्यहाँ फर्कन सकिन्न ।’ भन्ने ओठेजवाफ फर्काए । अहिले उनी माओवादीका भगौडा बोकेर कुन जेठ २ गते फर्किएका् हुन्, त्यो पनि अन्योलमै छ ।
फागुन २८ गतेदेखि भदौ ९ गतेसम्म एमालेभित्र जे–जस्ता घटनाहरु विकसित भए, त्यसको एउटै कारण ओली प्रवृत्ति हो । यो प्रवृत्तिलाई परास्त नगरी नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन । यो प्रवृत्तिले आफ्नै पार्टीको दुईतिहाई बहुमत भएको सार्वभौम संसद दुई पटक भंग गर्याे । हुँदाहुँदा आफ्नै पार्टी जोगाउन सकेनन् र आज नेकपा एमालेभित्रका अवसरवादीहरु एमालेमै र क्रान्तिकारीहरु समाजवादीमा रुपान्तरण हुन पुगे । जसको नेतृत्व माधवकुमार नेपालले गरेका छन् । अब नेता नेपालको काँधमा सिंगो कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै नेपाललाई समाजवाद उन्मुख बाटोमा लैजाने जिम्मेवारी समयले थपिदिएको छ ।