काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाएका छन् ।
नवौं महाधिवेशनबाट अध्यक्ष बनेपछि ओली स्वेच्छाचारी बन्दै गएर अन्ततः दक्षिणपन्थी बनेको उनको भनाइ थियो । उनले तत्काल ओली र एमालेसँग कुनै पनि प्रकारको सहकार्य हुन नसक्ने स्पष्ट पारे । उनले एमाले नेताकार्यकर्तालाई विद्रोह गरेर ओलीको दबाबबाट मुक्त हुन आग्रहसमेत गरे ।
‘ओलीको दक्षिणपन्थी गतिविधिकै कारण हामी नयाँ पार्टी खोल्न बाध्य भयौं । हामी त्यस्ता दक्षिणपन्थीसँग कुनै सहकार्य गर्नेछैनौं । हामी विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न सक्छौं,’ अध्यक्ष नेपालले भने । एमालेमा अध्यक्ष बनेपछि ओलीले पार्टीमा मनपरी गरेको आरोप लगाउँदै नेपालले सरकारको नेतृत्वमा आएपछि पनि त्यही व्यवहार देखाएपछि उनलाई हटाउने अभियान चलाइएको बताए ।
‘ओलीलाई जसरी पनि हटाउनुपर्ने भएपछि त्यसको जिम्मेवारी म आफैँले लिएको थिएँ,’ नेपालले भने ।
सरकारमा ओलीको मनपरी चलेपछि आफूले नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपेन्द्र यादव, बाबुराम भट्टराई र कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेको उनले दाबी गरे । ‘उहाँहरूसँगको छलफलपछि ओली हटाउने जिम्मेवारी मलाई नै आएको थियो, त्यसको नेतृत्व पनि मैले नै गरेको थिएँ,’ नेपालले भने ।
नेपालले एकीकृत समाजवादीका कोही शत्रु नहुने बताए। ‘हाम्रा कोही शत्रु हुनेछैनन्, सबै मित्र हुनेछन्,’ हाम्रो आन्तरिक मामिलामा कसैले हस्तक्षेप नगरून् । हाम्रो संवेदनशीलतालाई सबैले बुझिदिऊन् भन्ने अपेक्षा छ,’ उनले भने ।
उनले माओवादीसहितका शक्तिसँग सहकार्य हुने पनि बताए । ‘माओवादी केन्द्रलगायत कम्युनिस्ट दलहरूसँग सहकार्य हुनेछ । बाबुरामजीहरूदेखि अन्य शक्तिसँग पनि हामी सहकार्य गर्दै अघि बढ्नेछौं,’ उनले भने ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।