काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच दुई दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमति भएको छ । आइतबार सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भएको छलफलमा दुई दिनभित्र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमति भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब ढेड घण्टा छलफल भएको थियो । सो छलफलमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री नियुक्त भएको डेढ महिनासम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर आलोचना भइरहेको बेला तीन दलको शीर्ष नेताबीच केही दिनयता मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल हुँदै आएको छ ।
आज बस्ने नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दिने बताइएको छ । बैठकले अध्यक्ष नेपाललाई दलको नेता चयन गर्दैछ ।
यस्तै, जसपाका नेताहरू अहिले पार्टी प्रशिक्षणको सिलसिलामा काठमाडौं बाहिर रहेकाले उनीहरू फर्केपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको बताइएको छ । यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद विस्तारका लागि १४ भदौसम्म पर्खन आग्रह गरेका थिए । यसअघि २९ असारमा प्रधानमन्त्रीको शपथ लिएसँर्ग ४ जना मन्त्री नियुक्त भएका छन् ।