Logo
Logo

राष्ट्रपतिको उपस्थितिमा पद तथा गोपनीयताको शपथ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वाेच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा रहेका छन् ।
उनीहरुमध्ये ढुंगाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुन् । प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराए । उनी नेपाल सरकारको सचिव हुन् ।
राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको शपथ लिएका थिए । नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ ।
राष्ट्रपति भण्डारीले उनीहरु सातै जनालाई तत् पदमा गत शुक्रबार नियुक्ति गरेका थिइन् । सर्वाेच्च अदालतका न्यायाधीश न्याय परिषद्को सिफारिसमा तथा प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्