काठमाडौं । अध्यागमनको जिम्मेवारी नेपाल प्रहरीलाई दिनेबारे फेरि बहस सुरु भएको छ । अपराधको अन्तर्राष्ट्रियकरण बढेको भन्दै अध्यागमनमा प्रहरी समेत राख्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
गत सोमबार गृह मन्त्रालयले आयोजना गरेको अन्र्तक्रियामा पनि यस विषयमा छलफल भएको छ । नेपाल प्रहरीका अवकाशप्राप्त एआइजी विज्ञानराज शर्माले कार्यपत्र प्रस्तुत गर्दै अध्यागमनमा निजामतीका साथै प्रहरी राख्नुपर्ने प्रस्ताव गरेका हुन् । अध्यागमनमा प्रहरी राख्दा देशको सुरक्षा थप बलियो हुने शर्माको भनाइ थियो । इन्टरपोलको सदस्य नेपाल प्रहरी भएको र इन्टरपोलसँग सहकार्य गरेर अध्यागमनमा काम गर्नुपर्ने भएकाले पनि अध्यागमनमा प्रहरीको आवश्यकता रहेको उनको भनाई थियो ।
०५७ सम्म अध्यागमनको जिम्मेवारी नेपाल प्रहरीकै भएकोमा सरकारले त्यसयता निजामती कर्मचारीले हेर्दै आएको छ । त्यतिवेला प्रहरी केही विवादमा मुछिएपछि उसको जिम्मेवारी खोसिएको थियो । त्यसयता हरेक प्रहरी महानिरीक्षकले अध्यागमनको जिम्मेवारीमा प्रहरी फर्काउन पहल गर्दै आएका छन् । तर, गृहको निजामती प्रशासनको अनिच्छाका कारण उनीहरूको प्रयास सफल हुन सकेको छैन ।
अपराधको प्रवृत्ति फेरिँदै गएकाले अध्यागमनमा प्रहरीको जिम्मेवारी आवश्यकता बनिसकेको नेपाल प्रहरीका पूर्वमहानिरीक्षक उपेन्द्रकान्त अर्याल बताउँछन् । ‘जसरी अपराधको अन्तर्राष्ट्रियकरण भएको छ, त्यसका आधारमा अध्यागमनमा प्रहरीको आवश्यकता छ,’ उनी भन्छन्, ‘एक देशमा अपराध गरेर अर्काे देशमा भाग्ने प्रवृत्ति बढ्दो छ । अध्यागमन अपराध अनुसन्धानसँग जोडिँदै गएको छ । त्यसकारण सरकारले पुनर्विचार गर्नैपर्ने समय आइसकेको छ ।’ अध्यागमनसमेत प्रहरीलाई दिँदा सुरक्षामा प्रहरीलाई थप जिम्मेवार बनाउन सकिने उनको भनाइ छ ।
०७० मा तत्कालीन गृहमन्त्री वामदेव गौतम हुँदा अध्यागमनमा प्रहरी पठाउने तयारी गरेका थिए । राति करिब ११ बजे भारतबाट आएको एक जहाजका यात्रुलाई विनाचेकजाँच नै आगमन दिइएको खुलेपछि उनले अध्यागमनमा प्रहरी खटाउने तयारी गरेका थिए । तर, त्यतिवेला अध्यागमन विभाग र गृह मन्त्रालयका कर्मचारीले नमानेपछि रोकिएको थियो ।
त्यसपछिका प्रहरी महानिरीक्षकले पनि यसका लागि दबाब दिँदै आएका छन् । ‘अध्यागमनको विषय निजामती र प्रहरीबीचको अधिकार क्षेत्रको लडाइँजस्तो हुँदै आएको छ,’ एक पूर्वप्रहरी महानिरीक्षक भन्छन्, ‘यो त देशको जिम्मेवारीको विषय हो, अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने कुन दिन अध्यागमनका कारण देशको सुरक्षामा जोखिम नहोला भन्न सकिन्न ।’
०४५ मा अध्यागमनमा कार्यरत नेपाल प्रहरीका इन्स्पेक्टर कृष्णप्रसाद तिवारीलाई एक किलो सुनसहित विशेष प्रहरीले पक्राउ गरेको थियो । त्यसयता अध्यागमनका खटिएको प्रहरीको आलोचना सुरु भएकोमा पछि बदनाम भएको भन्दै जिम्मेवारी खोसिएको थियो ।
‘त्यसयता निजामतीको तुलनामा प्रहरीमा ठूलो सुधार आएको छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘निजामतीले मानव तस्करी नै गर्दा पनि सरुवा मात्र हुन्छ, प्रहरीको जागिर नै जाने गरी कारबाही हुन्छ, चेन अफ कमान्डमा चल्ने भएकाले पनि प्रहरीबाट बदमासी हुने सम्भावना कम हुन्छ । त्यसकारण पनि अध्यागमनमा प्रहरीको जिम्मेवारीले राष्ट्रिय सुरक्षामा थप प्रभावकारी हुन सक्छ ।’ विद्रोही समूह तालिवान हालै अफगानिस्तानको सत्तामा आएपछि थप सुरक्षा चुनौती बढेको र यस्तो अवस्थामा अन्तर्राष्ट्रिय यात्रुहरूको निगरानी आवश्यक हुने प्रहरी अधिकारीहरू बताउँछन् । हाल विमानस्थलको सुरक्षा मात्र प्रहरीले हेर्दै आएको छ । अहिलेकै अवस्थाले अध्यागमन सञ्चालन गरिए देशको सुरक्षाको कुनै दिन ठूलो जोखिम हुने सुरक्षा विद्हरु बताउँछन् ।