Logo
Logo

‘एमाले फुटेको होइन, हामीले विद्रोह गरेका हौँ’


2k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल दिल्लीमा मृगौला प्रत्यारोपण गराएर स्वदेश फर्किएका छन् ।

एमालेका वरिष्ठ नेताको हैसियतमा दिल्ली हिँडेका खनाल फर्किंदा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता बनेका छन् ।

उपचारका लागि दिल्ली उड्नु अघि एमाले अध्यक्ष केपी ओलीलाई सन्देश दिँदै खनालले भनेका थिए, ‘कमरेड, म फर्केर आउँछु कि आउँदिन, पार्टी बचाउनुहोस् ।’

तर, ओलीले खनालको आग्रह सुनेनन् । अन्ततः पार्टी विभाजन भयो । खनालले नेपाली दूतावासमा नै नयाँ पार्टी दर्ताका लागि आफ्नो नाम सनाखत गरेका थिए ।

एमाले दुई टुक्रा भइसकेको छ । तर, नेता खनालले भने यसलाई विभाजन नभई विद्रोहको संज्ञा दिएका छन् ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले एमाले विसर्जनवादको खतरातिर जान थालेपछि आफूहरुले बिद्रोह गरेर नयाँ पार्टी बनाउनु परेको तर्क गरे ।

उनले ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादलाई पार्टी भित्र परास्त गर्न गरिएको प्रयास पनि सफल नभएपछि विद्रोह गरिएको उल्लेख गर्दै त्यो विद्रोह नव निर्माणको निम्ति भएको पनि बताए ।

वरिष्ठ नेता खनालले भने, ‘यो विद्रोह हो । विद्रोह सृजनाको निम्ति हो । विद्रोह उज्ज्वल भविष्यको निम्ति हो । त्यो प्राप्त गर्नका लागि एकतावद्ध भएर अगाडि बढन म सबैलाई आह्वान गर्दछु । त्यो आग्रहका साथमा सबै कमरेडहरुले आफूलाई नयाँ मान्छेको रुपमा रुपान्तरण गर्न जरुरी छ । स्वार्थी मान्छेको रुपमा होइन । निजी स्वार्थलाई लिएर अगाडि बढ्ने होइन । समाजवादको भनेको सामूहिकता हो । सोही ढंगले अगाडि बढने हो ।’

ओलीको पार्टी अहिले दक्षिणपन्थी अवसरवादको र व्यक्तिवादको प्रतिक बनेको उनले बताए । ‘अहिले केपी ओलीको पार्टी भनेको त, दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकारवाद र व्यक्तिवादको प्रतिक बनेको छ’ खनालले भने, ‘त्यसैले यसका विरुद्ध हामीले विद्रोह गर्नुपरेको हो ।’ खनालले विद्रोह फुट र विनाश नभएको भन्दै विद्रोह अग्रगतिका निम्ति नयाँ झिल्को भएको पनि बताए । 

कम्युनिष्ट सरकार ढलेकोमा गोहीको आँसु नझारौँ

सर्वोच्च अदालतले (संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने) ऐतिहासिक फैसला गरेको उनले बताए ।

यसले लोकतन्त्र, संसद र संविधानको रक्षा भएको भन्दै उनले भने, ‘केपी ओलीको सरकार आफैंमा निरंकुश थियो । त्यो सरकार ढल्नु भनेको निरंकुशताको पराजय हो । दक्षिणपन्थी अवसरवाद, अहंकार, व्यक्तिवादको पराजय हो ।’

खनालले अघि भने, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’

यो नाफाको जीवन हो
खनाल स्वास्थ्यमा समस्या आएपछि असार २ गते भारत गएका थिए । उनको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई जेठी सासु (पत्नीकी दिदी)की छोरी मेरिना चित्रकारले मृगौला दिएकी थिइन् ।

उनले आँफू बलियो भएर स्वदेश फर्केको बताउँदै कुनै पनि कार्यकारी पदमा नरहने विमानस्थलबाटै घोषणा गरिदिए । आफ्नो जीवन नाफाको भएको भन्दै उनले सास रहुन्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढिकरणमा लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्