लमजुङ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ ।
आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए ।
उनले भने, “आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०ः१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए ।”
ढुङ्गामाटाका गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ । घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ । त्यहाँका घरहरू पनि टाढाटाढा छन् ।
प्रहरीले ढिलो खबर भएकाले समयमै पुग्न नसकेको बताएको छ । के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ । धर्मराज पूर्वगोरखा सैनिक रहेका स्थानीयको भनाइ छ ।