नेपालका प्रधानमन्त्री भारतको भ्रमणमा जाँदा त्यति चर्चा र चासो त्यहाँका मिडियालाई हुँदैन । भारत भ्रमणका अवसरमा दुई देशबीच जे–जस्तो सहमति भए पनि ती सहमतिले त्यहाँको प्रमुख मिडियामा स्थान पाउँदैन । तर, भारतका नेताको त कुरै छाडौं एक जना जोगी नेपाल भ्रमणमा आए पनि त्यसले मिडियामा प्रमुखता पाउँछ । यो नेपाली मिडियाको दास मानसिकता हो ।
गत साता नेपालका मिडियामा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेको भ्रमणले प्रमुखता पायो । उनी नेपाल आएको दिनदेखि फर्केको दिनसम्म नेपाली मिडियाको ध्यान उनमा केन्द्रित भयो ।
रक्षाबन्धनका दिन काठमाडौं आएका उनलाई बालुवाटारमा आरजु राणाले रक्षाबन्धन गरेर स्वागत गरे । यसलाई नेपाल–भारतबीचको सांस्कृतिक परम्परा भनेर मिडियाले टिप्पणी गरे ।
नेपाल–भारतबीच सम्बन्ध सुधार गर्न दुई देशबीच भारतको विदेश विभाग र नेपालको परराष्ट्र मन्त्रालयले औपचारिकरुपमा पुलको काम गर्छ । दुई देशबीच जति पनि समस्या छन्, तिनको समाधान गर्न दुई देशमा नेपाल डेस्कको व्यवस्था गरिएको छ । तर, दुई देशका राजनीतिक पार्टीहरुबीच समन्वय गर्ने पुल छैन । चौथाइवाले त्यही पुल निर्माण गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको बाहिरी चर्चा छ । पार्टी–पार्टीबीच सम्बन्ध स्थापना गर्न आएका चौथाइवालेले सबै प्रमुख पार्टीका नेतालाई भेटेर फर्किएका छन् ।
विगतमा के कति कारणले सम्बन्ध बिग्रियो ? त्यसको समीक्षा गर्नुपर्छ । सन् १९५० को सन्धिदेखि लिपुलेक, लिम्पियाधुरा, कालापानीदेखि जति पनि सीमा समस्या छन्, त्यो समाधान गर्न दुवै देश मिलेर इपिजी गठन गरियो । त्यसले रिपोर्ट पनि दिइसक्यो । तर, भारतकै कारण कार्यान्वयन भएन । यी सबै कुराहरुलाई एकातिर पन्छाएर ‘राखी’ बाँध्दैमा त्यही ‘राखी’ले सम्बन्ध सुधार्दैन ।
अब, भारतीय जनता पार्टीले कुन पार्टीसँग कस्तो सम्बन्ध कायम गर्छ भन्ने कुरा प्रतिक्षाको विषय बनेको छ । भारतीय जनता पार्टी आरएसएसको मातृ संगठन हो । यसर्थ, यो पार्टी हिन्दू धर्ममा आधारित छ । चौथाईवालेले काठमाडौंको आरएसएस कार्यालय पनि भ्रमण गरे । यसको पनि विशेष कारण छ ।
नेपालको संविधान २०७२ जारी गर्ने बेला यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत बनेर एस जयशंकर आएका थिए । उनी चाहन्थे– नेपालको संविधानबाट धर्मनिरपेक्षता हटाइयोस् । त्यसबेला प्रधानमन्त्री सुशील कोइराला थिए । तर, पनि जयशंकर काठमाडौं ओर्लनासाथ सिधैँ केपी शर्मा ओली भेट्न बालकोट पुगे । बालकोटमा ओलीले जयशंकरलाई संविधान जारी गर्ने मिति घोषणा भइसक्यो, मैले मिति सार्न सक्दिनँ, सक्छौं भने प्रधानमन्त्रीलाई मनाउनु भनेर ठाडो जवाफ दिएर फर्काए ।
त्यसपछि जयशंकर बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई भेट्न पुगे । कोइरालाले पनि संविधान घोषणा गर्ने दिन तोकिसक्यौं । कसरी मिति सार्न सकिएला र, यस विषयमा मसँगभन्दा केपी ओलीसँग वार्ता गर्न राम्रो हुने सुझाव दिए ।
बालकोटमा ओलीको तीतो बोलीले अघाइसकेका जयशंकर बालुवाटर पुगेर पनि तितै बोली खानु परेपछि आफूलाई अपमानित गरेको ठान्दै नयाँदिल्ली फर्किए । यता संविधान जारी भयो । मोदीले पनि बधाइ दिनुको साटो तितै जवाफ फर्काउँदै नाकाबन्दी गरे । त्यो नाकाबन्दीको स्वागत गर्दै राजेन्द्र महतोहरु सीमामा धर्ना बसे ।
त्यसको पीडा नेपाली जनताले अझै बिर्सिसकेका छैनन् । दुई देशको सम्बन्ध बिगार्ने काम नाकाबन्दीले ग¥यो । हरेक नेपाली जनताको मनमनमा पारेको त्यो चोटलाई दुई देशका पार्टी पार्टीको सम्बन्धले कसरी सुधार्न सक्ला ? सबैभन्दा पहिला भारतले नेपाललाई हेर्ने आफ्नो दृष्टिकोण र व्यवहार सुधार गर्नुपर्छ । त्यसको अनुभूति हरेक नेपालीले गर्नुपर्छ ।
विगतमा के कति कारणले सम्बन्ध बिग्रियो ? त्यसको समीक्षा गर्नुपर्छ । सन् १९५० को सन्धिदेखि लिपुलेक, लिम्पियाधुरा, कालापानीदेखि जति पनि सीमा समस्या छन्, त्यो समाधान गर्न दुवै देश मिलेर इपिजी गठन गरियो । त्यसले रिपोर्ट पनि दिइसक्यो । तर, भारतकै कारण कार्यान्वयन भएन । यी सबै कुराहरुलाई एकातिर पन्छाएर ‘राखी’ बाँध्दैमा त्यही ‘राखी’ले सम्बन्ध सुधार्दैन । सम्बन्ध सुधार्न व्यवहार सुधारिनुपर्छ । त्यसमाथि दुई देशका राजनीतिक पार्टीबीचको सम्बन्ध सिद्धान्त, विचारमा निर्भर गर्छ । भाजपासँग न त नेपाली कांग्रेसको सिद्धान्त र विचार मिल्छ, न त अन्य प्रमुख कम्युनिष्ट पार्टीहरुकै ।
ऊसँग विचार मिल्ने भनेको राजावादी पार्टी राप्रपाको हो, जो कमजोर धरातलमा उभिएको छ । राप्रपा कमजोर धरातलमा उभिएकै कारण बलियो जगमा उभिएको प्रमुख राजनीतिक पार्टीसँग उसले सम्बन्ध सुधार गरेर आगामी दिनमा आफ्नो उद्देश्य ती पार्टीबाट लागू गराउने डा. चौथाईवाले भ्रमणको भित्री मनशाय हुनुपर्छ ।