Logo
Logo

आजदेखि उपत्यकाका निषेधाज्ञा हट्यो, फिल्महलदेखि डिस्कोसम्म खुल्ने


630
Shares


काठमाडौं । विश्व स्वास्थ्य संगठनले संक्रमणदर ५ प्रतिशत भन्दा कम भएको अवस्थामा मात्र निषेधाज्ञा हटाउन सक्ने मापदण्ड छ । तर, सरकारले संक्रमणदर १५ प्रतिशत हाराहारी भएकै अवस्थामा जोखिम मोलेर निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।


उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयले बिहीबारदेखि बिद्यालयबाहेक यसअघि निषेध गरिएका सबै क्षेत्र खोल्न दिने निर्णय गरेको छ । स्कुल पनि स्थानीय तहसँग समन्वय गरेर सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उल्लेख छ । जिल्ला प्रशासनको आदेशअनुसार यसअघि बन्द गरिएका फिल्म हल, रात्रीकालिन व्यवसाय, हेल्थक्लब लगायतका बन्द गरिएका सबै क्षेत्र खुल्ने भएका छन् ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि १६ बैशाखदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । ठिक चार महिनापछि निषेधाज्ञा हटाउने निर्णय भएको छ ।


कतिपय व्यवसायहरु बैशाखदेखि बन्द हुँदा व्यवसायी र कामदार समस्यामा परेकाले स्वास्थ्य मापदण्ड लागू गरेर खोल्न दिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । ‘अब लिभिङ विथ कोरोनाको अवधारण अनुसार अघि बढ्नुको विकल्प छैन,’ उनले भने,‘संक्रमण बढ्न नदिइ व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेका हौं । फेरि बढ्यो भने बन्द गर्न बाध्य हुन्छौं ।’ प्रशासनले जात्रा, जुलुस भोज गर्न भने निषेध गरेको छ ।


कोभिड– १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) तथा चिकित्सकको राय लिएर नै सबै क्षेत्र खुला खुला गरिएको सिडिओ पराजुलीको भनाई छ । ‘काठमाडौंमा गत मंसिरको जस्तो अवस्था अहिले छ भन्ने चिकित्सकको भनाई छ,’ उनले भने,‘संक्रमणदर करिब १० प्रतिशत छ, अवस्था अलि सहज भएकाले सबै क्षेत्र खुलाएका हौं ।’ उपत्यकामा संक्रमणदर १० प्रतिशत हारामारी भएपनि समग्रमा करिब १५ प्रतिशतको हाराहारी छ ।

प्रतिक्रिया दिनुहोस्