काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताबीच फेरि विवाद सुरु भएको छ । अध्यक्ष ओलीले एक्लौटी रुपमा प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए)को भेला बोलाएपछि विवाद सुरु भएको हो ।
ओलीले भोली (१८ भदौ)मा पीपीएलएको भेला बोलाएका छन् । उक्त भेलालाई अध्यक्ष ओलीले प्रमुख अथितिको रुपमा सम्बोधन गर्दैछन् । तर, पीपीएलका अध्यक्ष रुद्रप्रसाद नेपालले भने भेलाबारे आफूलाई केही जानकारी नभएको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष ओलीले एक्लौटी रुपमा गतिविधि अघि बढाएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्षले यसरी एक्लौटी रुपमा गतिविधि गर्दै गए पार्टी एकतावद्ध गर्ने काम प्रभावित हुने बताएका छन् ।
ओली समूह र तेस्रो धारका नेताबीच एमालेलाई २ जेठ २०७५ मा फर्काउने निर्णय भएको एक साता पनि नबित्दै अध्यक्ष ओलीले मनोमानी गर्न थालेपछि तेस्रो धारका नेताले चिन्ता व्यक्त गरेका छन् ।
साता दिन अगाडि मात्र नेपालको साथ छोडेर तेस्रो धारका नेताले पार्टीलाई एकतावद्ध बनाउने भन्दै १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सहमतिसहित एमालेमै रहने निर्णय गरेका थिए । गत ९ भदौमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गरेरको थियो ।
पीपीएलको भेला ललितपुरको च्यासल स्थित तुल्सीलाल स्मृती प्रतिष्ठानमा बोलाइएको छ । ओली समूहले एकपक्षीय रुपमा भेला बोलाएको भन्दै पीपीएलएका अध्यक्ष नेपालले सो भेला बोलाउने कुनै संस्थागत निर्णय नभएको भन्दै सदस्यहरुलाई सहभागी नहुन अपिल गरेका छन् । अध्यक्ष नेपालले भने– ‘पीपीएलए केन्द्रीय समितिका नाममा बोलाइएको भनिएको भेला संस्थागत निर्णयबिना भएकाले उक्त भेलाबारे पीपीएलएलाई संस्थागत रुपमा कुनै जानकारी नभएको व्यहोरा अनुरोध छ । पीपीएलएको एकता बचाउन चाहने कानुन व्यवसायीलाई उक्त भेलामा सहभागी नहुन हार्दिक अपिल गर्दछु ।’
पीपीएलएका इञ्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य रघुजी पन्तले भेलाबारे कुनै जानकारी नभएको बताए । एकतर्फी भेला रोक्न आग्रह गर्दासमेत ओली समूहले नमानेको पन्तको भनाइ रहेको छ ।