काठमाडौं । सार्वजनिक लाभको पद लिएका तथा पार्टीका विभिन्न समितिमा रहेका कांग्रेस कार्यकर्ताबाट मासिक शुल्क (लेबी) उठाउन केन्द्रीय कार्यालयलाई निकै समस्या हुने गरेको छ । पटकपटक ताकेता गर्दा पनि लेबी उठ्न नसकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले गुनासो गरे । समयमा लेबी उठाउन पछिल्लोपटक भदौ ८ गते केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको थियो ।
परिपत्रमार्फत तत्काल लेबी बुझाउन ताकेता गरिएको थियो । परिपत्रमा लेबी नबुझाएको व्यक्ति पार्टीको १४औं महाधिवेशनको कुनै पनि पदमा उम्मेदवार हुन नसक्नेसमेत उल्लेख गरिएको छ । लेबी नबुझाएको व्यक्ति वडा अधिवेशनमा समेत उम्मेदवार हुन नपाउने व्यवस्था पार्टीको नियमावलीमा छ । तर बिहीबारबाट कांग्रेस वडा अधिवेशन हुँदै गर्दा अघिल्लो दिनसम्म कैयौं कार्यकर्ताबाट लेबी उठ्न नसकेको बताइएको छ ।
‘लेबी नुबझाउने व्यक्तिले पार्टीको कुनै पनि चुनावमा भाग लिन नपाउने व्यवस्था नियमावलीले गरेको छ । हामीले पनि पटकपटक ताकेता गरेका छौं,’ उनले भने, ‘तर पनि अझैसम्म पूरा लेबी उठ्न सकेको छैन ।’ कति संख्यामा लेबी उठ्न सकेन भन्नेबारे हिसाब हुन बाँकी रहेको पनि उनले बताए । ‘कुनकुनबाट लेबी उठ्यो, कहाँबाट उठेन, त्यो हिसाब गर्न बाँकी छ। तर उठ्नुपर्ने लेबी उठ्न सकेको छैन,’ उनले भने ।
नेपाली कांग्रेस रोल्पा जिल्ला समितिका अध्यक्ष अमर पुनले लेबी उठ्नै नसकेको बताए । उनले भने, ‘अहिलेसम्म रोल्पाबाट एक रूपैयाँ पनि लेबी उठेको छैन।’ कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७६ असार २९ गते बसेको बैठकले नियमावली पारित गरेको थियो ।
उक्त नियमावली २०७६ साउन १ गतेबाट लागु भएको थियो । नियमावलीमा सार्वजनिक लाभको पदमा निर्वाचित, मनोनीत वा नियुक्त भएका पार्टीसम्बद्ध व्यक्तिले मासिक शुल्क (लेबी) बुझाउनुपर्ने व्यवस्था गरिएको छ । नियमावली पास भएपछि केन्द्रीय कार्यालयले पहिलोपटक २०७७ माघ २० गते ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको थियो । त्यसपछि पनि लेबीका लागि पटकपटक ताकेता गरिएको जनाइएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।