काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक परिषद्सँग जोडिएका मुद्दा हेर्न नहुने कानुन व्यवसायीको टिप्पणीपछि बिदामा बस्ने निर्णय गर्नु संविधानसम्मत वा विपरीत भन्ने प्रश्न टुंग्याउन सर्वोच्च अदालतले चारजना वरिष्ठ अधिवक्ताको पनि राय लिने भएको छ ।
एकातिर संविधानले नै संवैधानिक इजलासको जिम्मेवारी प्रधानन्यायाधीशलाई दिनु र अर्कोतिर संवैधानिक परिषद्को सदस्यका हैसियतले निर्णयमा संलग्न भएपछि त्यसविरुद्ध परेका मुद्दा उनले हेर्ने–नहेर्ने द्विविधाको टुंगो इजलासमार्फत लगाउने आदेश सर्वोच्च अदालतले बिहीबार गरेको छ ।
शुक्रबारका लागि पेसी तोकिएको संवैधानिक परिषद्ले गरेका नियुक्ति सिफारिससम्बन्धी निर्णयसँग जोडिएका मुद्दा तत्काल सुनुवाइ नगरी प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने नबस्ने विषयमा अदालतका सहयोगी (एमिकस क्युरी) झिकाउने आदेश भएको हो । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले संवैधानिक इजलास सञ्चालनमा कायममुकायम प्रधानन्यायाधीश रहन मिल्ने कि नमिल्ने भन्ने निक्र्योल गर्नुपर्ने भएकाले अदालतका सहयोगीसमेत मगाउन आदेश गरेको हो ।
प्रधानन्यायाधीश जबराकै नेतृत्वमा संवैधानिक इजलास बस्नैपर्ने माग गर्दै सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता भएको थियो । अधिवक्ता गणेश रेग्मीले संविधानले किटान गरेकाले प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने माग गर्दै रिट निवेदन दर्ता गरेका हुन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।