Logo
Logo

कोरानाले मनोसमस्या


252
Shares

काठमाडौं । दुई वर्षयता विश्वभरि फैलिएको कोभिड–१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन्। टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेत रोक लगाइएको छ। लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या बढिरहेको पाइएको छ ।

एक साताअघि काठमाडौंकी १३ वर्षीया बालिकाले पत्तीले हात काटेर आत्महत्या गर्ने प्रयास गरेपछि अभिभावकले उपचारका लागि कान्ति बाल अस्पताल पुर्‍याए । आत्महत्याको प्रयास गर्नुअघि ती बालिका इन्स्टाग्राम, टिकटक बढी समय गुजार्ने र सामाजिक सञ्जालमा आफूलाई हेर्न चाहने गर्थिन् । उपचारपछि उनी सामान्य अवस्थामा आइरहेको बाल मानसिक रोग विशेषज्ञ डा। अरूण कुँवरले बताए। यो वर्ष दैनिक १४ देखि २२ जनाले आत्महत्या प्रयास गरेको तथ्यांक छ ।

काठमाडौंकै १२ वर्षीय बालकले घरबाहिर निस्कन नमान्ने, कोरोना सर्छ भन्दै अविभावकलाई घरबाहिर निस्कन नदिने, घरीघरी हात धुनेजस्ता गतिविधि गरेपछि उपचारका लागि उनलाई पनि दुई साताअघि कान्ति बाल अस्पतालमा पुर्‍याइयो । उपचारपछि बालक पनि सामान्य हुँदै गइरहेको डा. कुँवरले बताए ।

गत वर्ष काभ्रेका १७ वर्षीय युवकले लकडाउनकै अवधिमा आत्महत्याको प्रयास गरेका थिए । घरबाट कामकै सिलसिलामा सिन्धुली पुगेका उनी लकडाउनमा उतै फसेपछि आफूलाई दिक्क मान्ने गरेको बताएका थिए। लकडाउन लम्बिँदै गएपछि उनले आत्महत्याको प्रयास गरेका थिए । गाउँलेको सहयोगमा उनको उद्धार भएको थियो ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्