Logo
Logo

एमसिसी अनुमोदन हुनेमा अमेरिका आशावादी


315
Shares

काठमाडौं । नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा उठिरहेका प्रश्नबारे प्रस्ट पार्न अमेरिकालाई पत्र लेखेको विषयलाई नेपालस्थित अमेरिकी दूतावासले परियोजना अनुमोदनका पक्षमा सकारात्मक कदम भनेको छ ।

एमसिसीकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको मिति नजिकिँदै गर्दा अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसिसीलाई पत्र लेख्दै नेपालमा जनस्तर तथा राजनीतिक तहमा उठेका प्रश्नबारे स्पष्ट पार्न आग्रह गरेको छ । संसद्बाट अनुमोदन हुनुपर्ने विषयमा राजनीतिक सहमति नजुटेपछि परियोजना अघि बढ्न नसकेको अवस्थामा सरकारको पत्राचारले आशा जगाएको दूतावासले जनाएको छ ।

‘एमसिसीले नेपालको अर्थ मन्त्रालयबाट शुक्रबार पत्र प्राप्त गरेको छ। यो अनुमोदनका लागि सकारात्मक कदम हो,’ दूतावासका एक अधिकारीले भने । उनले नेपाली जनतासँग खुला र पारदर्शी संवादका लागि एमसिसी तयार रहेको पनि बताए ।

५० करोड अमेरिकी डलरको उक्त परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मै सम्झौता भए पनि राजनीतिक तथा जनस्तरमा समेत विभिन्न प्रश्न तथा आशंका उत्पन्न भएपछि यो विषय अघि बढ्न सकेको छैन। एमसिसी कार्यान्वयनका विषयमा जानकारी लिन उपाध्यक्ष सुमार अर्को साता नेपाल आउने तय भएपछि सरकारले यो विषयमा सहमति जुटाउन छलफल तीव्र बनाएको छ ।

एमसिसीलाई संसद्बाट अनुमोदन गरी कार्यान्वयनमा लैजाने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायतका नेतासँगको छलफललाई तीव्रता दिएका छन् । गत मंगलबार सरकारका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्