विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो पार्टी रोजेमा सरकारले निरन्तरता पाउने बताएकी छन् ।
शनिबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ झाँक्रीले भनिन्, ‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ । उहाँहरू आउनुभयो भने हामी आफैँ विश्वासको मत दिलाउन खट्ने छौँ ।’ उनले एमालेमै फर्किएको अवस्थामा उनीहरूले विश्वासको मत लिनुपर्ने र सरकार अल्पमतमा पर्ने भएकाले आफ्नो पार्टी आउन आग्रह गरेकी छन् ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ दल छान्न पाउने मौका भदौ २२ गतेसम्मको समय सीमा भएकाले मुख्मन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्य एकपा एकीकृतमा आबद्ध भएको खण्डमा सरकार टिकाउनलाई विश्वासको मत जुटाउन मद्दत गरिने बताएकी हुन् ।
प्रदेश १ का मुख्यमन्त्री आचार्यले यसअघि नै आफू एमालेमा आबद्ध भइसकेको बताइसकेका छन् भने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अहिलेसम्म कुन पार्टी रोज्ने भन्नेमा मौन छिन् ।