काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा माधवकुमार नेपाललाई लाज शरम पचेको मान्छे भनी टिप्पणी गरेका छन् ।
शनिबार एमालेको काठमाडौं महानगरपालिका स्तरीय समितिले गरेको कार्यक्रममा उनले माधव नेपालले आफूले कहिल्यै नदेखेको टिप्पणी गरे ।
उनले भने, ‘देशको विकासको अभियान चलाइरहेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने ? मैले यति साह्रो लाज शरम पचेको मान्छे, माधव नेपालजस्तो मान्छे जिन्दगीमा कहिँ पनि देखेको छैन । नेपाल मात्र होइन, दुनियाँको धेरै देशमा पुगेँ, माधव नेपालजस्तो शरम पचेको मान्छे ‘।’
माधव नेपालले आफू बसेको खाटमा आफैं बञ्चरो हानेको ओलीले टिप्पणी गरे । ‘अस्तिसम्म जुन खाटमा बसिराखेका थिए, त्यही खाटमा वञ्चरोले हान्या हान्यैं छन् । अस्तिसम्म जुन पिर्का बसेका थिए, त्यही पिर्का भाँचेको भाच्यै छन् । अस्तिसम्म जुन मन्दिरमा पूजा गरेका थिए, त्यो मन्दिरमा थुक्या थुक्यै छन्’ उनले भने ।
उनले एमाले छोडेर अहिलेको सरकारमा जान तयार गरिरहेकाहरुलाई देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरूको संज्ञा दिए । उनले भने–‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन् । दूध र भात खान पाइन्छ भन्दै म्याउ गर्दै ढुक्नलाई पुगेका छन् ।’
उनले आगामी निर्वाचनमा पार्टीले जनप्रतिनिधि हुन लायकलाई मात्रै उम्मेदवार तोक्ने उल्लेख गरे । उनले काठमाडौँ महागरपालिकामा एमालेबाहेक अरू मेयर भन्नै नसुहाउने उल्लेख गरे । सक्षम नेतृत्व एमालेबाहेक अरू कसैको हुन नसक्ने उनको दाबी थियो ।