काठमाडौँ । हुम्लाको नाम्खामा सीमा सम्बन्धी अध्ययन गर्न गृह मन्त्रालयले सहसचिव जयनारायण आचार्यको संयोजकमा समिति गठन गरेको छ । नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ मा पर्ने ‘नेपाल-चीन सीमा विवाद’ अध्ययन गर्न प्रहरी,सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सम्मिलित समिति गठन गरिएको हो ।
गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार समितिमा रहने सदस्यहरुको नाम पठाउन प्रहरी, सशस्त्र र नापी विभागलाई पत्राचार गरिएको छ । भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले ‘चीनसँगको सीमा समस्या’ अध्ययन गर्न भन्दै समिति गठन गर्ने निर्णय गरेको थियो ।
चीनतर्फको सीमा क्षेत्र छुट्याउने ११ र १२ नम्बर स्तम्भको नेपाली भू-भाग मिचिएको भन्दै कर्णाली प्रदेशका कांग्रेस सांसदीय दलका नेता तथा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले यस विषयमा अनुसन्धान गर्न भन्दै पटकपटक माग गर्दै आएका छन् । त्यसपछि गृहका सहसचिवको संयोजकत्वमा अनुसन्धान समिति गठन गरिएको हो ।