राजनीतिमा पुस्तान्तरण शब्द सुन्दा राम्रो तर व्यवहारमा कठिन विषय बन्यो । हरेक राजनीतिक पार्टीमा लामो समयदेखि पुस्तान्तरणको प्रश्न उठ्दै आएको छ । तर, व्यवहारमा त्यो सम्भव भएको छैन । यसका अनेक कारण छन् । दुई तरिकाले पुस्तान्तरण सम्भव हुन्छ । एक, संरचनागत प्रक्रिया । दुई, पछिल्लो पुस्ताको हस्तक्षेपकारी भूमिका ।
यी दुई प्रक्रियाबाट राजनीतिमा पुस्तान्तरण सम्भव छ । तर, नेपालमा यी दुवै प्रक्रिया व्यवहारत प्रयोग हुन सकेन । यसका दुई फ्याक्टर छन् । एक, गैरजिम्मेवार नेतृत्व । अर्को, कमजोर पछिल्लो पुस्ता । अर्थात, नेतृत्व वर्ग पुस्ता हस्तान्तरणका लागि तयार छैनन् । पछिल्लो पुस्ता नेतृत्व हत्याउने ल्याकत नै राख्दैनन् ।
वीपी कोइराला हुँदै शेरबहादुर देउवासम्म आइपुग्दा नेपाली काँग्रेसमा पाकाहरुकै रजगज छ । पुष्पलाल हुँदै प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओलीसम्म आइपुग्दा कम्युनिष्टहरुमा पनि पछिल्लो पुस्ता बलियो छैन । नेपाली राजनीतिका यी मुख्य दुई धारमा अहिलेसम्म पाकाहरु नै निर्णायक छन् । अर्थात, पुस्तान्तरण असम्भव जस्तै बनेको छ । यसको मुख्य कारण संरचनागत रुपमा पुस्तान्तरणको परम्परा विकास हुन नसक्नु हो । प्रजातान्त्रिक राजनीतिक शक्तिहरुमा पनि राजा महाराजाहरु जस्तै अघिल्लो पुस्ताको सेखपछि मात्र पछिल्लो पुस्ता नेतृत्वमा पुग्ने गलत परम्परा छ ।
संरचनागत रुपमा नेतृत्व विकास असम्भव जस्तै बनेको छ । चरण–चरणमा भएका राजनीतिक विद्रोहमार्फत फाट्टफुट्ट नेता उदाए । राणा र पञ्चायतविरुद्धको विद्रोहमा होमिएकाहरु नै अहिले राजनीतिको केन्द्रमा छन् । त्यसपछि भएको प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध र जनआन्दोलनमार्फत स्थापित नेता मूल नेतृत्वको रुपमा विकास हुनसकेका छैनन् ।
नेतृत्व पुस्ता राजनीतिक सत्ता त्याग्न तयार हुँदैनन् । पछिल्लो पुस्ता नेतृत्व दावी गर्ने ल्याकत नै राख्दैनन् । त्यसैले नेपाली राजनीतिमा पुस्तान्तरण जटिल प्रश्न बन्यो ।
पछिल्ला विद्रोह तथा आन्दोलनहरुबाट स्थापित नेताहरुले राजनीतिक नेतृत्व लिने समय अझै टाढा छ । किनकि, अहिलेका मूल नेतृत्व राजनीतिक सत्ता त्याग्न तयार छैनन् । पछिल्लो छिमलका नेताले सक्षम नेतृत्वको रुपमा आफूलाई स्थापित गरेर नेतृत्व हत्याउन सकेका छैनन् । पछिल्लो पुस्ता नेता भए, नेतृत्व भएनन् । एउटा जिम्मेवारी पाएपछि नेता हुन समस्या भएन । तर, जिम्मेवारी पाएर पनि स्पष्ट भिजन नहुँदा नेतृत्व बनेनन् । अघिल्लो पुस्ताको शरण पर्नुको विकल्प भएन ।
पछिल्लो पुस्ता स्वार्थहरुमा फसेका छन् । संघर्षको एउटा चरण पार गरेपछि स्वार्थहरुमा लिप्त भए । मुख्य नेतृत्वको लक्ष्यभेदन असम्भव देखेपछि बेलैमा राजनीतिक वैचारिक यात्रा त्यागे । सामान्य अवसर पाउनेवित्तिकै अन्तिम मौका ठानेँ । त्यसैमा सबै सम्भावनाहरु सके । र, भावी नेतृत्वको रुपमा आफ्नो यात्रा त्यही रोके, रोक्दैछन् । नैतिक रुपमा पतन भइसकेपछि अघिल्लो पुस्तालाई खबरदारी गर्न सक्दैनन् । पछिल्लो पुस्तालाई उचित मार्गनिर्देशन गर्न सक्दैनन् । त्यसपछिको पुस्ता पनि दोस्रो पुस्ता जस्तै एकपछि अर्को गर्दै गलत यात्राका लागि तयार भए, हुँदैछन् । नेपाली राजनीतिमा देखिएको दृश्य योभन्दा फरक छैन ।
वर्तमान नेपाली राजनीतिको दोस्रो पुस्ता स्वार्थी छ । निहीत स्वार्थमा अघिल्लो पुस्ताका नेतृत्वलाई विभाजित गर्ने भूमिका यिनैले खेलेका छन् । दोस्रो पुस्ताकै स्वार्थमा हरेक पार्टीमा गुटहरु जन्मेका छन् । गुटकै आधारमा अवसरहरु उपभोग गर्ने मनस्थिति बलियो बनेको छ । विचार र सिद्धान्तको आधारमा यहाँका कुनैपनि राजनीतिक दल विभाजित छैनन् । स्वार्थकै आधारमा पार्टीभित्र समूहहरु बनेका छन् । नेतृत्व एकमत हुँदा स्वार्थ पूरा नहुने नभएपछि यिनै स्वार्थीहरुले दल विभाजनसम्मको यात्रा रोज्ने गरेका छन् । नेतृत्वमा विभाजन ल्याएर स्वार्थ पूरा गर्ने गलत परम्परा विकास हुँदा राजनीतिमा त्यागको भावना समाप्त हुँदै गएको छ । गलत परम्पराले नै निरन्तरता पाउँदै आएको छ ।
स्वार्थहरुमा बन्ने समूहले विचार र सिद्धान्त मूल ठान्दैन । स्वार्थपूर्ति महत्वपूर्ण मान्छ । विचार र सिद्धान्तमा आधारित समूह अन्तिमसम्म अडिग रहन्छ । तर, स्वार्थमा आधारित समूहले जुनसुकै बेला जेपनि गर्न सक्छ । त्यसको पछिल्लो उदाहरण नेकपा एमालेको दोस्रो पुस्ता हो । जुन पुस्ताले मुद्धाको लेपन लगाएर नेतृत्वमा विभाजन ल्यायो । अन्तिम समयमा आफूलाई पश्चगामी कित्तामै पुर्याए । जहाँ, स्वार्थ पूरा हुने सम्भावना देख्यो ।
केपी शर्मा ओलीले प्रतिगमन रोज्दा माधवकुमार नेपाललाई अघि सारेर दोस्रो पुस्ता अग्रगमनको पक्षमा उभियो । भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसााल, अष्टलक्ष्मी शाक्या, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्टहरु प्रतिगमनविरुद्ध अग्रमोर्चामा देखिए । उनीहरुले नै ‘ओलीसँग सकिन्न, नयाँ पार्टी खोलौँ’ भन्दै माधवलाई उचाले । तर, अन्तिम अवस्थामा यिनै पुस्ता ‘ओली नै ठिक’ भन्ने ठाउँमा पुगे । अर्थात, माधवसँग लाग्दा स्वार्थ पूरा नहुने उनीहरुको बुझाइ रह्यो । त्यसैले एकाएक ओली प्रतिगमन सच्चियो ! माधवलाई उचाल्ने दोस्रो पुस्ता विचार र सिद्धान्तमा इमानदार भएको भए प्रतिगमनको मतियार बन्न ओलीको शरण पर्ने थिएनन् । यसरी एमालेमा दोस्रो पुस्ता स्खलित भयो ।
माओवादीमा दोस्रो पुस्ता नै छैनभन्दा हुन्छ । प्रचण्ड पछिका नेता गुमनाम जस्तै छन् । जता हेरे पनि प्रचण्ड नै देखिन्छन् । प्रचण्डको ‘सेप’मा दोस्रो पुस्ता पहेँलै भइसके । जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा आउँदा माओवादीमा सम्भावनायुक्त नेता एकसेएक देखिन्थे । आशा लाग्दा नेता थुप्रै थिए । तर, विचार, सिद्धान्त र आर्दशबाट एकपछि अर्को गर्दै सबै नेता च्यूत हुँदै जाँदा धेरै बदनाम भइसके । धेरै गुमनाम भइसके । टिकेर बसेका केही नेताले पनि नैतिकताको धरातल छोडिसके । दोस्रो पुस्ता एकपछि अर्को गर्दै बदनामीको कित्तामा सर्दै जाँदा प्रचण्ड शक्तिशाली बन्दै गए । आज माओवादीमा यस्तो परिस्थिति बनेको छ कि फरकमत राख्ने हिम्मत कसैसँग छैन । प्रचण्डपछिको नेतृत्व राँको बालेर खोज्नुपर्ने बेला भएको छ ।
नेपाली काँग्रेस महाधिवेशनको संघारमा छ । यसपटक पनि उनै पाका नेता शेरबहादुर देउवा नै नेतृत्व हत्याउने दाउमा छन् । देउवाले नेतृत्व नलिएपनि देउवा जत्तिकै पाका रामचन्द्र पौडेलले नेतृत्व लिनेछन् । दोस्रो पुस्ता मानिएका शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौलालगायतको हातमा यसपटक पनि काँग्रेसको नेतृत्व जाँदैन । विश्वप्रकाश शर्मा, गगन थापाजस्तै युवा पुस्ताको पालो कहिले आउने हो थाहा छैन । काँग्रेसमा पनि दोस्रो पुस्ता हस्तक्षेपकारी हुन सकेन । कुनै न कुनै रुपमा दोस्रो पुस्ता स्वार्थमै विभाजित भए । आफूलाई प्रजातन्त्रको हिमायती ठान्ने काँग्रेसमा प्रजातान्त्रिक अभ्यासको अवस्था लाजमर्दो छ । नेतृत्व हस्तान्तरण त कल्पना पनि छैन ।
नेतृत्व हस्तान्तरण प्रक्रियागत रुपमा हुनुपर्छ । बलियो विधि र विधानको आधारमा बलियो थिति बस्नुपर्छ । त्यसका लागि दोस्रो पुस्ताको उपस्थिति हस्तक्षेपकारी हुनुपर्छ । सैद्धान्तिक वैचारिक रुपमा प्रतिवद्ध भएर इमानदापूर्वक दोस्रो पुस्ता हस्तक्षेपमा उत्रन सकेको भए आज नेतृत्व हस्तान्तरणको संस्थागत परम्परा विकास भइसकेको हुन्थ्यो । तर, नेपाली राजनीतिमा दोस्रो पुस्ता बारम्बार चुक्दैछ । एमालेमा ७० वर्षे उमेर हदबन्दी लागू भयो । नेतृत्व हस्तान्तरण प्रक्रियामा यो एउटा प्रारम्भ हुन्थ्यो । तर, भीम रावल र घनश्यामहरु ‘उमेर हदबन्दी राख्नु हुन्न’ भन्ने पक्षमा ओलीसँग एकमत भए । यस्तै अवस्था आए योगेश घनश्यामहरुले लौरो टेक्दै नेतृत्व सम्हाल्नुबाहेक अरु विकल्प हुँदैन ।
नेपाली राजनीतिमा नेतृत्व हस्तान्तरणका लागि ठूलो संघर्ष आवश्यक छ । तेस्रो पुस्ताको हस्तक्षेपकारी उपस्थितिमा त्यो सम्भव छ । दोस्रो पुस्ताबाट अब केही सम्भव छैन । उनीहरु जुन संस्कारबाट हुर्के, सोही संस्कारलाई परम्पराको रुपमा निरन्तरता दिन चाहन्छन् । उनीहरुबाट सम्भव छैन । उनीहरुका लागि स्वार्थपूर्ति नै महत्वपूर्ण बनिसक्यो । तेस्रो पुस्ताले विचार र सिद्धान्तलाई स्वार्थभन्दा माथि राखेर इमानदारपूर्वक आफूलाई उभ्याउने हो भने सम्भव छ । जुन पुस्ता दोस्रो पुस्ता डुबेको स्वार्थभन्दा धेरै टाढा हुनुपर्छ । आज माधवहरुलाई डोर्याउने रामकुमारीहरु भोली सिँगो राष्ट्र डार्याउन सक्षम हुनेछन् ।