काठमाडौं । देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहेको महाशाखाले जानकारी दिएको छ ।
मनसुनी वायुको प्रभावका कारण बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुको एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।
महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।