संखुवासभा । सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले मादी नगरपालिका-१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो ।
प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।
आज बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए ।
कसैको शव बाटो, कसैको बारी र कसैको खोल्सामा भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार कसले के कारण हत्या गरेको भन्ने अहिलेसम्म खुलेको छैन ।
परिवारका एक जना वृद्ध सदस्य भने जोगिएको प्रहरीले बताएको छ । उनी घाइते छन् । उनी आँखा पनि नदेख्ने र कान पनि नसुन्ने अवस्थाका रहेको बताइएको छ ।
सदरमुकामबाट प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली घटनास्थलतर्फ गएको छ । यस्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट समेत प्रहरी टोली खोला गाउँ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।