एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिलियन फुटबल लेजेण्ड पेलेको अर्को कीर्तिमान तोडेका छन् ।
केहि समयअघि एकै क्लबका लागि सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान पनि तोडेका मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी क्षेत्रको खेलाडीको कीर्तिमान तोडेका हुन् ।
फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिनाले बोलिभियालाई ३–० ले पराजित गर्दा ह्याट्रिक गरेपछि मेसीले पेलेको कीर्तिमान तोडेका हुन् ।
मेसीले पेलेभन्दा २ गोल बढी गरिसकेका छन् । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका छन् भने पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए । उक्त कीर्तिमान सन् १९७१ देखि कायम थियो ।
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले १११ गोल गरेका छन् ।
मेस्सीले एकै क्लब (बार्सिलोना)को लागि लागि ६ सय ७२ गोल गरेका थिए । पेलेले सान्तोसका लागि ६४३ गोल गरेका थिए ।