काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने सरकारको योजना रहेको बताएका छन् ।
शुक्रबार नेपाल भ्रमणमा रहेको अमेरिकी अनुदान सम्झौता एमसीसीको टोलीले गरेको शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले सबै दललाई सहमतिमा ल्याउने प्रयास भइरहेको र राष्ट्रिय सहमति कायम गरेरै एमसीसीलाई अघि बढाउने बताएका हुन् ।
सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भेटमा एमसीसी सम्झौता लगायत नेपाल र अमेरिकाबीचको द्धिपक्षीय साझेदारीबारे छलफल भएको जानकारी दिए । छलफल छनेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको उनले बताए ।
भेटमा प्रधानमन्त्री देउवाले एमसीसीको उपाध्यक्षलाई भेट्न र स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे ।
बिहीबार नेपाल आइपुगेको एमसीसीको उपाध्यक्षसहितको टोलीले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपासँग छलफल गरेको थियो । शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सिंहदरबार पुगेर उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालसँग भेट गरेको थियो ।
टोली अझै दुई दिन नेपालमा रहनेछ ।