Logo
Logo

सकारात्मक निर्णय हुनेमा सुमार आशावादी


756
Shares

काठमाडौं । नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार दोस्रो दिन शुक्रबार पनि राजनीतिक भेटघाटमा व्यस्त रहिन् ।

उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ऊर्जामन्त्री पम्फा भुसालसँग भेट गरिन्। स्रोतका अनुसार भेटमा उनले आफू नेपालमा एमसिसीका पक्षमा दबाब सिर्जना गर्न नभई यसको अवस्था बुझ्न आएको र नेपालले सकारात्मक निर्णय गर्नेमा आशावादी रहेको बताएकी छन् ।

सुमारसँगको भेटमा एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक परिवर्तनमा यसको महत्वबारे छलफल भएको जानकारी देउवाले दिएका छन् । भेटमा नेपाल–अमेरिका सहयोगका अन्य विविध विषयमा पनि छलफल भएको जनाइएको छ ।

सन् २०१७ मा आफ्नै प्रधानमन्त्रित्वकालमा सम्झौता भएको एमसिसीलाई कार्यान्वयन तहमा अघि बढाउन देउवा प्रतिबद्ध छन् । तर सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सबैसँगको सहमति र सम्झौता संंशोधन गरेरमात्र एमसिसी कार्यान्वयन तहमा अघि बढाउनुपर्ने अडान राखेका कारण देउवाको मात्र चाहनाले यो संसद्बारा पारित हुने अवस्था छैन ।

एमसिसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई उनकै निवास खुमलटार पुगेर भेटिन् । भेटमा अध्यक्ष दाहालले एमसिसीका विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएरमात्र अगाडि बढ्न सकिने बताए ।

दाहालले सहमतिमै अघि बढ्दा नेपाल र अमेरिका दुवैलाई फाइदा हुने बताएको जानकारी उनका प्रेस संयोजक विष्णु सापकोटाले दिए।

दाहालले अग्रगमनकारी वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाउनु अहिलेको प्रमुख प्राथमिकता रहेकोसमेत बताएका थिए । सत्तारुढ गठबन्धनबीच पनि एमसिसीबारे साझा धारणा बनाएर अघि बढ्ने समझदारी भएको दाहाल निकट स्रोतले जानकारी दियो ।

एमसिसीलाई अघि सारेर गठबन्धन भत्काउने प्रयास भइरहेको र त्यसमा सचेत हुँदै साझा धारणा बनाउने समझदारी भएको जनाइएको छ । भेटमा सुमारले आफू नेपालमा कुनै दबाब दिन नभई एमसिसीको अवस्था बुझ्न आएको बताएकी थिइन् ।

सुमारले ऊर्जामन्त्री भुसाललाई उनकै मन्त्रालयमा भेटेर एमसिसी कार्यान्वयनका विषयमा कुराकानी गरेकी हुन् । मुख्यगरी परियोजनाको लक्ष्य विद्युत् प्रसारण लाइन निर्माण भएकाले उनले उर्जामन्त्रीलाई भेटेर कुराकानी गरेकी हुन् ।

सुमारले परियोजना कार्यान्वयनमा सहयोग गर्न मन्त्री भुसालसँग आग्रह गरेकी थिइन् । मन्त्री भुसालले यस विषयमा राजनीतिक सहमति र जनचाहनाअनुसार अघि बढ्ने बताएकी थिइन् ।

सुमारले बिहीबार काठमाडौं आएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका अध्यक्षमाधव कुमार नेपाल र जनता समाजवादी पार्टीका शीर्ष नेताद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग भेट गरेकी थिइन् ।

प्रधानमन्त्रीसहितका नेतासँगको भेटमा सुमारले नेपालले एमसिसीबारे सकारात्मक निर्णय गर्नेमा आफू आशावादी रहेको बताएकी छन् ।

यो समाचार आजको नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्