काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लागेको छ । विधान महाधिबेशनमा तीन हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।
एमाले सचिव योगेश भट्टराईले विधान महाधिवेशनमा तीन हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने बताए । विधान महाअधिवेशनमा हालको केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनेछन् ।
एमालेमा विगतमा विधान महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु सहभागी हुने व्यवस्था रहेको थियो । तर नवौं महाधिवेशन पछि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य चुनिएका छैनन् । त्यसैले अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनको प्रतिनिधि टुंगो लगाइएको छ ।
एमालेले यस अघि असोज ४ देखि ६ गतेका लागि तय गरिएको विधान महाधिवेशन असोज १५ देखि १७ गतेलाई सारेको छ ।
विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको विवरण यस्तो छ-
– केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य
– अनुशासन आयोगका पदाधिकारी र सदस्य
– लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य
– निर्वाचन आयोगका पदाधिकारी र सदस्य
– केन्द्रीय विभागका सचिवलगायत १५ जना
– सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य
– ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्य
– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य
– जिल्ला कमिटी र सोसरह मान्यता पाएका कमिटीका पदाधिकारी र सदस्य
– हरेक निर्वाचन क्षेत्रबाट दलित, महिला र खुलातर्फ एक–एक सदस्य
– प्रत्येक जनवर्गीय संगठनका पदाधिकारीमध्येबाट १० जना
– पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
– पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
– एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख
– एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत