काठमाडौं । सत्तारूढ गठबन्धन दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू सहभागी छन् ।
आजको बैठकमा पनि मन्त्रिपरिषद विस्तारबारे छलफल भइरहेको बताइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना बित्न लाग्दा समेत मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । मन्त्रिपरिषदले पूर्णता नपाउँदा गठबन्धन सरकार आलोचित बनेको छ ।
गठबन्धन दलका शीर्ष नेताहरुबीच यथासिघ्र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमति हुँदै आएपनि दलहरुले मन्त्रीको नामावली दिन सकेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बसेको गठबन्धन बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरुलाई मन्त्रीको नामावली दिन आग्रह गरेका थिए ।