Logo
Logo

एमाले सांसदलाई संवादमा आउन सभामुखको आग्रह


630
Shares

काठमाडौं । प्रनिनिधिसभा बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेलाई संवादमा आउन आह्वान गर्दा समेत नाराबाजी गर्न नछाडेपछि आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको सभामुखले सुनाए ।

करिब २० मिनेट विपक्षी सांसदले नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

आइतबारको संसद अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताएका छन् । उनले भने, ‘विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु । हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’

सभामुख सापकोटाले १४ सांसदको कारबाहीसम्बन्धी विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यस विषयमा संसद बैठकमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था रहेको बताए । सभामुख सापकोटाले संसदलाई मर्यादित रुपमा सञ्चालनका लागि सहयोग गर्न एमालेलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्