Logo
Logo
साहित्य

‘तालीको समाजशास्त्र’ मिठो व्यङ्ग्य


1.6k
Shares

यो पुस्तौ तन्कने
लामो यात्राका बीचमा
एक छिन
पिँध टेकाएको मात्र हुँ
जुत्ताको तुना खुकुल्याएको मात्र हुँ
मलाई निमेषमै जुत्ताको तुना कस्न
कसैको
निर्देशन जरुरत पर्दैन ।

विश्व सिग्देल वर्तमान पुस्ताका उम्दा कवि हुन् । (२०३७) काभ्रेमा जन्मेका सिग्देलको ‘तालीको समाजशास्त्र’ पहिलोे कविता कृति हो । हुनतः उनको ‘अब्सेसन’ अंग्रेजीमा संयुक्त कथासङ्ग्रह, सन् २०१४ मा न्यू दिल्लीबाट प्रकाशित भएको थियो । समसामयिक विषयवस्तुमा कविता लेख्न रुचाउने विश्वको दृष्टिकोण आम कविभन्दा फरक छ । त्यसैले उनी आफ्नो नाम नेपाली कवितामा अग्रपंक्तिमा राख्न सफल भएका छन् ।

यसैकारण उनी युवापुस्ताको एउटा आशालाग्दा प्रतिभा हुन् । समकालीन कविहरु भन्दा फरक दृष्टिकोणबाट कवितामा प्रस्तुत हुने उनको प्रस्तुतिले हरेक क्षेत्रको विकृतिलाई शालिनताकासाथ प्रस्तुत गरेका छन्, तालीको समाजशास्त्र कवितामा । जसले जे भने पनि, हाम्रा हात बाँधिए पनि हामीले ताली बजाउन छोड्नु हुन्न भन्ने मिठो व्यङ्ग्य कवितामार्फत व्यक्त गरेका छन् ।

हामीले त
हाम्रो हातको ताली
नजान्दै बालखैमा नामसारी गरिदिएछौँ
नमान्दा–नमान्दै मनले
जो भीडको पछिपछि बजिहिँड्छ
जो सत्ताको समर्थनमा
निरन्तर घन्किरहन्छ सदनमा
जो बनेको छ तिम्रो हतियार
र, निहत्था हामी ।

तालीको समाजशास्त्रभित्र समसामयिक विषय समेटिएका पैतालीस कविता छन् । कवि पनि यही समाजको एउटा पात्र हुन् । यही समाजलाई हेर्ने मिहीन दृष्टिकोणले उनको परिचयलाई आम कविको कित्ताबाट अलग्गै बनाएको छ, र कविको भीडमा अलग्गै उनी कवि बनेका छन् । साठी दशकको शुरुवातबाटै नेपाली साहित्यमा लागेका विश्व अकालकुसुम मासिक पत्रिकाका सम्पादक पनि हुन् ।

नेपाली साहित्यमा अत्यन्त उत्साहका साथ लागि परेका विश्व समाजका विभिन्न मुद्दाहरुमा कविता श्रृङ्लामार्फत नेपाली कवितामा एउटा अलग्गै आयाम ल्याउने प्रयासमा छन् । एउटा उन्मुक्त्त पुस्ताको सिर्जनाले साहित्यलाई पुरातनबाट युग अनुसार चल्न सक्ने क्षमताको विकास गर्न सक्छ, यी युवा कविहरुमध्ये अग्रपंक्तिमा उभिएका उनी अब कविताका माध्यमबाट समाजमा जकडिएको पुरातन सोचलाई बदल्नु पर्छ भन्ने मान्यता राख्छन् ।

तालीको समाजशास्त्रका अधिकांश कविताले यही कुराको उद्घोष गरेको पाइन्छ । उनका कविताले कहिल्यै कसैको सर्मथन या गुनगान गाएका छैनन् । उनका कवितामार्फत सिङ्गो समाजका मुद्दालाई उठान गरेको छ । सत्तामा रहँदा शक्तिको दुरुपयोग रोक्न उनले कवितामार्फ आग्रह गरेका छन् । भ्रष्ट नेताहरुको दोहोल काढेका छन् ।

स्वदेशी उत्पादन छोडेर मल्टिनेशनल कम्पनीका ब्राण्ड प्रयोग गर्ने बानी परेको हाम्रो समाजमा सचेतनाका धुनहरु गुनगुनाई रहेका छन् । सत्तामा पुगेर आफ्नो हैसियत बिर्सेका नेताहरुलाई आफ्नो हैसियत नभूल भनेर सचेत गराइरहेका छन् । प्रदूषित राजनीतिले दिक्क भएका जनताका आवाजहरुलाई एकीकृत गरेर कवितामार्फत व्यक्त गरेकाछन् । जनताका इच्छा आकांक्षा समाधान गर्न संसद भवनलाई उनीहरुले शौचालय बनाए भन्दै कडारुपमा प्रस्तुत भएका छन् ।

हुन त ढुङ्गाको मन हुनेसँग जति नै चिच्याए पनि केही लाग्दैन तर, हामीले नबोले कसले बोल्छ ? हामीले नलेखे कसले लेख्छ ? भन्ने उनीभित्रको भावना छ । हो यस्तै सुन्दर विचारले एक दिन ढुङ्गाको मन पग्लन्छ, त्यो सार्मथ तालीको समाजशास्त्रका कविताले बोकेको छ ।

ढल फुट्दाको जुगुप्सा
अन्तरमा कतै दबाएर
टालटुले व्यवस्थाको रसाइनभन्दा
कुहिगन्धले ढपक्क ढाकेको आकाश
स्विकार्ने स्थितिमा छन् नगरवासी
र, यो स्थिति
स्थायी बन्ने तरखरमा छ ।

मानवीय मूल्य मान्यतासँगै उनका कविताहरुमा जीवन दर्शनका प्रतिछाँयाहरु प्रशस्त भेटिन्छन् । यही समाजमा भएका घटनालाई यथार्थको जलप लगाएर लेखेका यी कविताका शब्दहरु शालिनरुपमा उजागर गरेका छन् ।

शालिनताका प्रतीक विश्व कवितामा पनि शालिनताको छाप छोड्न सफल रहेका छन् । कविताको मूल कुरा बिम्ब हो । उनले कवितामार्फत प्रस्तुत भएका सरल, बोधगम्य शैलीका बिम्बले कवितालाई चिटिक्क पारेका छन् । सधै सबैले पोख्ने वेदना उनीबाट पोखिएका देखिँदैनन्, यसलाई पृथक प्रस्तुतिबाट प्रयोग गर्नु उनको अर्को विशेषता हो । आजकल धेरै कविताहरु विभिन्न वाद प्रतिवादमा रहेर लेखिएका भेटिन्छन्, नारा जस्ता लाग्ने ती कविताहरुको कुनै मुल्य हुँदैनन् ।

विश्वका कविताहरु युगौँयुगसम्म जीवन्त रहने कविताहरु हुन् । उनले कवितामामार्फत प्रगतिशील, राष्ट्रवादी, जनपक्षीय र परिवर्तनकामी समाजको निमार्णमा जोड दिएका छन् । विश्वका कविताहरु देश र समाजप्रति उत्तरदायी छन् ।

सकारात्मक सोच भएका कविका रुपमा पनि लिन सकिन्छ उनलाई । उनका कविताहरु पढ्दा यस्तो लाग्छ, उपदेशभन्दा पनि सोच राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ भन्ने कुराका प्रस्ट हुन्छ । हामी समाज परिवर्तनका लागि नै साहित्य लेख्छौँ भने हाम्रो विचार सधै सकारात्मक हुनु जरुरी छ । विश्व कविता लेख्नु खाली शब्दहरुको जन्जालमात्र होइन, निश्चित उद्देश्य बोकेर देश, जनतासँगै शासक वर्गलाई सधै सचेत गराउँनु पनि एउटा सर्जकको कर्तव्य हो ।

यस्तै उद्देश्यका साथ लेखिएका यी कविताहरु समाजप्रति उत्तरदायी कविताका रुपमा लिन सकिन्छ । तालीको समाजशास्त्रका पैतालीस ओटै कविताहरु एक से एक उम्दा छन् । जीवन, प्रकृति एक आपसका परिपुरक वस्तुहरु हुन् । दुबैले एक आपसको शोभा बढाएका छन् । तर मान्छेहरु आफ्नो स्वार्थको लागि प्रकृतिको दोहन गरिरहका छन् । उनले मान्छेलाई सचेत गरेका छन् कवितामार्फत । विगत विर्सनेहरुका लागि कवितामार्फत धावा बोलेका छन् ।

गोल्डस्टार जुत्तालगाएर युद्ध लडेकाहरु सत्तामा पुगेपछि बिर्सेका गोल्डस्टार जुत्ताको बयान कवितामार्फत मिठो व्यङ्ग्य भएर तालीको समाजशास्त्रमा आएका छन् । समग्रमा तालीको समाजशास्त्रका कविताहरु हाम्रो समाजका प्रतिबिम्बहरु हुन् । अत्यन्त कालजयी र हरेक कवितामा जनमनका आवाजहरु समेटिएका तालीको समाजशास्त्रभित्रका कविताहरुले वर्तमान युगको प्रतिनिधित्व गरेका छन् ।

बढ्दै जाँदा
सालको पात रुखजस्तै उमेर
छामे सत्यलाई
जो बाँधिएको थियो मुठामुठामा
जसलाई फुकाउन
कुर्नुपथ्र्यो मैलो मेरा पितृकार्य
दुना, बोहोता, टपरी हुँदै
फेरि गाँस्नुपथ्यो, सत्यलाई दुरुस्त पार्न ।

प्रतिक्रिया दिनुहोस्