काठमाडौं । स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ ।
माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन् ।
यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन् । दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन् । दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन् ।
दुवै पक्षले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा छुट्टाछुट्टै नेतृत्व पठाएका छन् । २०७३ जेठमा आधिकारिक ट्रेड युनियनको चुनाव हुँदा सबैभन्दा बढी भोट ल्याएको एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष पद पाएको थियो ।
दोस्रो भोट ल्याएको नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले महासचिव पद पाएको थियो । , यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।