काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा केपी शर्मा ओली मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिड्ने गरेको टिप्पणी गरेका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओली बालुवाटारबाट निकालिँदा पनि बाजा बजाएर बालकोट गएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘केपी त्यस्ता मान्छे हुन् जो मलामी जाँदा नि बाजा बजाउँदै नाच्दै हिँडिदिन्छन् । मान्छे दंगै पर्छन्, किनभने बालुवाटारबाट बालकोट जाने भनेको त हारेको, सन्नाटा भएर बडो निराश भएर अब के गर्ने ? फेरि कसरी आउने होला ? भनेर सोच्दै जानु पर्नेमा पञ्चेबाजा बजाएर, धिमे बाजा बजाएर मानौं ठूलो जित हासिल गरेको जस्तो।’
केपी ओली झुट र धोकाका पर्यायनै भएको प्रचण्डको आरोप थियो । उनले भने, ‘केपी ओली छन् नि झुट बोल्न त्यतिको सिपालु मान्छे सायद नेपालमा अरु छैनन्। धोका चाँही आफूले दिने। धोकै धोकाको छ तिनको जीवन तर सजिलै अर्कोलाई धोकेवाज भन्छन् ।’
केपी ओलीले उखान टुक्का भन्दा ताली बजाउने देखेर आफू हैरान पनि प्रचण्डले बताए । उनले भने, ‘केपी ओलीले उखान टुक्का भन्दा ताली लगाउने देखेर हैरान हुन्छु। के बुझेर तालि लाउँछन् मानिसले ?’
अध्यक्ष प्रचण्डले ओलीको निरंकुशता थाहा पाएपनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताए । उनले नेकपा एमालेले मदन भण्डारी र एमालेको लोगो भएपछि एमाले भनिरहेको भन्दै एमालेको कुनै सिद्धान्त नरहेको बताए ।
ओलीले आफूले मनपरी गरेर आरुलाई दोष दिने गरेको पनि प्रचण्डको आरोप थियो । उनले भने, ‘पार्टीभित्रको झगडाले जनताको प्रतिनिधि सभा विघटन गर्न पाइन्छ ? मनपरी आफू गर्ने ? पार्टीभित्र बहुमत अर्कोतिर भएपछि उनले छोड्न पर्दैनथ्यो ?’