काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा तय गरिएको कुनै पनि योजना नकाटिएको बताएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक पारित भएपछि बाहिरिने क्रममा उनले ओली सरकारको पालमा तय गरिएको कुनै पनि योजना नकाटिएको स्पष्ट पारेका हुन् । एमालेले आफ्नो सरकारका पालामा तय गरिएका योजनालाई वर्तमान सरकारले काटेको आरोप लगाउँदै आएको थियाे ।
मन्त्री शर्माले पूर्वाग्राही छन् कि भनेर प्रतिपक्षीलाई शंका लागेको मात्रै बताए । उनले भने, ‘योजना काटेर नभई राजस्व बढाउने लक्ष्य राखेर व्यवस्थापन गरेकोबाहेक केही गरेको छैन, हामी पूर्वाग्राही छैनौं । पूर्वाग्राही छन् कि भनेर उहाँहरुलाई शंका लागेको होला । उहाँहरुले भोलि-पर्सि सबै योजना देखेपछि होइन रहेछ भन्नुहुन्छ ।’
अर्थमन्त्री शर्माले प्रतिपक्षीसँग सौहार्दपूर्ण वावतारण बनाउने पनि बताए । उनले भने, ‘निरन्तर वार्ता गर्ने हो। सर्वदलीय बैठक बसेको यहाँहरुलाई थाहा छ । कानुनमन्त्रीले निरन्तर वार्ता गर्नुभएको यहाँहरुलाई अवगतै छ । हामीले वार्ता र संवादलाई निरन्तरता दिइराखेका छौं ।’