संविधान आफैँमा केही होइन, सबथोक पनि हो । त्यसैले संविधानको परिधिभित्र बसेर राज्य सञ्चालन गर्नु लोकतान्त्रिक विधि र पद्धति हुन्छ । जसले संविधानको पालना गर्नुपर्ने हो, त्यसैले संविधानविपरीत काम गर्न थालेपछि त्यो मुलुकको राजनीतिमा कस्तो विग्रह उत्पन्न हुन्छ भन्ने कुराको उदाहरण अहिलेको हाम्रो राजनीतिक अवस्था हो ।
२०७४ सालको निर्वाचनमा दुई कम्युनिष्ट पार्टी मिलेर चुनाव लडेपछि केपी शर्मा ओली दुईतिहाइका प्रधानमन्त्री थिए । उनको प्रमुख जिम्मेवारी संविधानबमोजिम देशलाई अगाडि बढाउनुपर्ने थियो
निर्वाचनताका जनतालाई दिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक तुल्याउनुपर्ने थियो । तर, भयो उल्टो । जनताले पाँच वर्षको लागि कम्युनिष्ट पार्टीलाई दिएको दुईतिहाइ मत भुइँ न भाँडो बन्यो । साढे तीन वर्ष पनि नबित्दै दुईतिहाइको सरकार उत्तानो पर्यो । अहिले त्यो पार्टी संसद्मा टाउकाले टेकेर हिँडिरहेको छ ।
यस्तो परिस्थिति कहाँबाट निम्तियो ? शक्तिशाली पार्टीका प्रधानमन्त्री किन प्रमुख प्रतिपक्षका नेता बने ? र कमजोर प्रमुख प्रतिपक्षका नेता अहिले किन प्रधानमन्त्री बनेका छन् भन्ने कुराको गहिरो विश्लेषण नगरी राजनीति बुझ्न सकिन्न । संविधान र लोकतन्त्रप्रति ओठेभक्ति देखाएर मात्र लोकतन्त्रको जग बलियो हुँदैन । लोकतन्त्रको जग बलियो बनाउन राजनीतिकर्मीहरुले आफूभित्रको विकार पखाल्नु पर्छ । देश र जनताको आदर्श नेता बन्न सक्नुपर्छ । अनि मात्र राजनीतिक दल र नेताप्रति जनताको आश, भरोसा बढ्छ । लोकतन्त्र भनेको अन्ततः जनताको सेवा नै हो ।
नेपालको संविधान विश्वकै लोकतान्त्रिक देशहरुको भन्दा उच्चतम किन छ भने, यसले निरंकुश तानाशाहको परिकल्पना गरेको छैन । अर्थात्, संसद्को अकाल मृत्युको कल्पना यो संविधानमा छैन । त्यसैले ‘संविधानको धारा ७६ (५) को उपधारा (३)ले प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेको खण्डमा त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ’ भन्ने कुरा उल्लेख गरिएको हो ।
यसै धारा अन्तर्गत अहिले शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । र, उनले प्रतिनिधिसभाबाट विश्वासको मत समेत लिएका छन् । प्रतिनिधिसभामा अहिले पनि कम्युनिष्ट पार्टीको मत १७६ छ । कम्युनिष्ट पार्टीले चाहने हो भने अहिले पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।
तर, कम्युनिष्टहरु किन फुटिरहेका छन्, कसले फुटाइरहेको छ र दुईतिहाइको कम्युनिष्ट पार्टीले किन यो दुर्गति भोग्दैछ भन्ने कुरा सबैले बुझेका छन् । बुझेर बुझ पचाइरहेका छन् । एकले अर्कोलाई तल्लो स्तरमा झरेर गाली गर्दैछन् । यो दृश्य देखेर पर्दा पछाडिका खेलाडीहरु ताली पिट्दैछन् ।
यो सबै विकृतिको जन्म पुस ५ गतेको संसद् विघटनको परिणाम हो । जसले संविधानविपरीत यो दुर्घटना गराए, तिनले अहिले त्यसको परिणाम भोग्दैछन् । कम्युनिष्ट आन्दोलनलाई सखाप पार्ने अभियानमा एक अर्कालाई तेजोबध गर्दैछन् । र, अझै भन्दैछन्– ‘निर्वाचनपछि नौमति बाजा बजाएर सिंहदरबार छिर्छु ।’ यो त नौमती बाजाकै अपमान हो ।
प्रतिगमनको नेतृत्व गर्नेले यो संविधान ध्वस्त पार्नकै लागि सार्वभौम संसद् विघटन गराएको हो । संसद् विघटन गर्ने चाहे राजा महेन्द्र होस् वा अन्य कुनै व्यक्ति, त्यो लोकतन्त्रवादी हुनै सक्दैन । जसको मुखुण्डो पुस १ र पुस ५ गते उघ्रिसकेको छ ।