बुटवल । बुटवल उपमहानगरपालिका ज्योतिनगरका पहिरो पीडितले अस्थायी आवासका लागि घरबहाल खर्च सहयोग पाउने भएका छन् । उपमहानगरपालिकाले पीडितलाई राहतस्वरुप घरबहाल खर्च दिने भएको हो ।
गत भदौ १३ गते ज्योतिनगर र लक्ष्मीनगर माथिको चुरे पहाडबाट पहिरो झरेको थियाे । गत सोमबार उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उक्त पहिराे निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा आक्रोशित स्थानीय एक युवकले सुवेदीमाथि मुक्का प्रहार समेत गरेका थिए ।
त्यसपछि स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका प्रमुख सुवेदीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रका स्थानीयलाई राहतस्वरुप घरबहाल खर्च दिने निर्णय गरेको हो ।
विपद् व्यवस्थापन, क्षति न्यूनीकरणलाई थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ । सम्बन्धित वडाबाट पीडितको माग निवेदनसहित विवरण संकलन गरी जिल्ला विपद व्यवस्थापन समिति मार्फत प्रकृया अगाडि बढाइने भएको छ ।