काठमाडौं । बालुवाटारस्थित ललितानिवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा बनाएर हिनामिना गरेको आरोप लागेका नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छादारले उक्त प्रकरणमा आफू निर्दोष रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले विभागीय मन्त्रीका हिसाबले आफूले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन पालना गरेको बताए ।
तत्कालीन प्रधानमन्त्री नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्ताव मन्त्रिपरिषद्सम्म लैजाने काममात्र आफूले गरेको गच्छदारले बताए । उनले प्रधानमन्त्री एवं विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने सरकारको गुरुयोजना आफूले भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलेदेखि नै सुरु भएकोसमेत दाबी गरे । उक्त गुरुयोजना आफ्नो निर्देशन र निर्णयले नबनेको उनको भनाइ छ ।
ललितानिवास जग्गासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत पास भई कार्यान्वयन अघि बढेको भए पनि सामूहिक निर्णयमा आफूमाथि मात्र व्यक्तिगत तबरमा पूर्वाग्रह राखेर फसाउन खोजिएको उनको आरोप छ ।
आफूले व्यक्तिगत रुपमा लाभ नलिएको र नेपाल सरकारलाई पनि हानि नपुर्याएकाले गुरुयोजना कार्यान्वयनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नु भ्रष्टाचारजन्य काम नभएको उनको दाबी छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।