Logo
Logo

प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण


3.4k
Shares

वीरगञ्ज । नेपाली सैनिक वार कलेज नगरकोटमा तालिमरत सबै हतियार कमान र स्टाफ कोर्स सिसं ३ का ५० जना अधिकृतबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण भएको छ ।

सो क्रममा उनीहरुले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेस्क र सङ्ग्रहालयसमेतको अवलोकन गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अवलोकनपश्चात् आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले भ्रमणका क्रममा तालिमरत अधिकृतले नेपाल प्रहरी सङ्गठनको इतिहास एवं कार्य प्रकृतिसम्बन्धी यथेष्ट जानकारी हासिल गरेको विश्वास व्यक्त गरे ।

नेपाल प्रहरीसम्बन्धी विविध विषयमा तालिमरत अधिकृतले राखेका जिज्ञासाको निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा सबै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय भइरहेको बताए । आउँदा दिनमा समेत सकारात्मक कार्य सम्पन्न गर्न आपसी सहयोग र समन्वय आदानप्रदान हुने उनले उल्लेख गरे ।

प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गरेको उक्त कार्यक्रममा सेनानी राहुल अधिकारीले भ्रमणमा सहभागी तालिमरत अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए ।

११ लाख सर्वसाधारणलाई निःशुल्क मास्क वितरण
‘तपाईँको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म कूल ११ लाख ५३ हजार ४७० सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन स्थानमा सात हजार ३७९ लाई मास्क वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोइ ? ’ कार्यक्रमअन्तर्गत दैनिकरूपमा सर्वसाधारण नागरिकलाई निःशुल्क मास्क वितरण गरिँदै आएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्तरूपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईँको मास्क खोइ ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ ।

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने ८६९ लाई रोकी सम्झाइबुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ४४ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत आठ हजार ७३९ लाई सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्