काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दैछ । यसअघि बुधबार बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि त्यसैलाई निरन्तरता दिँदै बैठक बस्न लागेको हो । बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यअसघि बुधबारको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएपनि कुनै निर्णय हुन सकेन । आजको बैठकले मन्त्रिपरिषद् विस्तारको विषय टुंगो लगाउने बताइएको छ । यसअघि मंगलबार बेलुका बसेको गठबन्धनको बैठकले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो ।
बुधबार बसेको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए ।
सत्तारुढ गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार पार्टीको स्थायी समितिको बैठकमा बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुने र त्यस विषयमा आज साँझ बस्ने गठबन्धनको बैठकमा केही समझदारी बन्ने बताएका थिए ।