काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनसम्म कुनै पनि हालतमा वर्तमान गठबन्धन नतोड्ने संकल्प गरिएको बताएका छन् ।
माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग पाँचखाल, काभ्रेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा वर्तमान गठबन्धन नफुट्ने भन्दै गठबन्धनमा आवद्ध दलहरुबीच संकल्प गरिएको बताएका हुन् ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रच्ण्डले भने– ‘वर्तमान सत्ता गठबन्धन फुटाउन अनेक सड्यन्त्र भइरहेको छ । तर, हामी फुट्ने छैनौं । हिजो मात्र हामीले कुनै पनि हालतमा नफुट्ने बरु फुटाउन खोज्नेविरुद्ध एक भएर लड्ने संकल्प गरेका छौं । हामीलाई कसैले फुटाउन सक्दैन । हामी आगामी निर्वाचनसम्म कुनै पनि हालतमा फुट्दैनौं ।’
अध्यक्ष प्रचण्डले एमसीसी ल्याएर गठबन्धन फुटाउन खोजिएको तर असफल भएको समेत बताएका छन् । उनले भने– ‘गठबन्धन फुटाउन एसीसी ल्याइयो । प्रचण्ड र शेरबहादुर देउवालाई फुटाउन एमसीसी नै उपयुक्त भन्ने तरिकाले केही मान्छे लागे । तर, त्यो असफल भएको छ । हामी कुनै पनि वहानामा फुट्ने छैनौं ।’
प्रतिगमनकारी ओलीलाई बालुवाटारबाट बालकोट पुर्याइएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनकारी शक्तिविरुद्ध सधै संघर्ष गर्ने समेत बताए ।