काठमाडौं । आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले वर्षाका कारण उक्त स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ ।
यस्तै आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।