काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमले दायर गरेको रिटमाथि सुनुवाईमा आज पनि ‘हेर्न नमिल्ने’ ठहर भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी शुक्रबार पेसी तोकिएको थियो ।
आलमलाई थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले गरेको फैसलालाई चुनौती दिँदै आलमले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
विष्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका आलमलाई तल्लो अदालतले थुनामै राखेर सुनुवाइ प्रक्रिया अघि बढाउने आदेश दिएकोमा आलमले धरौटीमा रिहा हुन माग गर्दै रिट निवेदन दिएका हुन् ।
आलमको रिट यसअघि पनि पटक पटक पेसी तोकिएको थियो । यद्यपि सुनुवाइ हुन सकेको थिएन । करिब १४ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम काण्डमा आलमलाई मुख्य आरोपित बनाइएको छ ।