Logo
Logo
साहित्य

‘पछिल्लो पुस्ताले कथा लेखनमा फरक धार ल्याए’


819
Shares

विसं २००६ साल असोज ३ गते तानसेन पाल्पामा जन्मनुभएका विजयगोविन्द श्रेष्ठ, नेपाली साहित्यमा ‘विजय सागर’को नामले परिचित हुनुहुन्छ । कथा, कविता, लघुकथालगायतका डेढ दर्जन पुस्तकहरु प्रकाशित छन्, उहाँका । उहाँ लघुकथा समाजबाट ‘पद्यम–रामचन्द्र लघुकथा समाज सम्मान २०७७’बाट सम्मानित हुनुभएको छ । यसै सन्दर्भमा रहेर छविरमण सिलवालले गर्नुभएको कुराकानी ।

तपाईंको कथा लेखनबारे केही भन्नुस् न ?

म १२ वर्षको हुँदा २०१८ सालमा मैले पहिलोपटक महाकविज्यूको मुनामदन पढेँ । मुनामदनको कारुणिक कथा र जनता विद्यालय तानसेन जहाँ म २०१८ सालदेखि २०२२ (एसएलसी) सम्म पढेँ । जहाँ हरेक शुक्रबार साहित्यिकवाचन हुने गर्दथ्यो । त्यही साहित्यिक कार्यक्रमका कारण मलाई साहित्यमा अभिरुचि भएको हो । कथा लेखन सम्बन्धमा तानसेनमा धवल पुस्तकालय र नेपाल–भारत सांस्कतिक पुस्तकालयहरुमा धेरै पत्रपत्रिकाहरु आउँथे । पत्रपत्रिका पढ्ने क्रममा कथाहरु बढी पढिन्थ्यो । एकाध कथा, कविताहरु लेखिन्थ्यो तर, प्रकाशनको निम्ति कतै पठाउने हिम्मत नै हुँदैनथ्यो । २०२४ सालमा म भूमिसुधार अफिस रुपन्देहीको खरिदार थिएँ । मोदनाथ प्रश्रितको सम्पादनमा भैरहवा ०२२ सालदेखि ‘गुराँस त्रैमासिक’ पत्रिका प्रकाशन हुन्थ्यो । हिम्मत गरेर ‘संकुचित माया’ शीर्षकको कथा गुराँसमा पठाएँ । कथा छापियो । खुसीको सीमा रहेन । कथा लेख्ने प्रेरणा पनि मिल्यो । मेरो पहिलो प्रकाशित कथा पनि यही हो ।

तपाईं कथा लेख्न कल्पनाशीलतामा बढी जोड दिनुहुन्छ या यथार्थलाई ?

कल्पनाको डोरो नभईकन कथा नै बन्दैन तर पनि म यथार्थलाई बढी ध्यान दिन्छु ।

एउटा कथा लेखकले ध्यान दिनुपर्ने मूल तत्व के हो ?

जब कुनै मार्मिक घटना, दृश्य वा कथनले कथाकारको हृदयलाई छुन्छ, हो त्यसबेला कथाको जन्म हुन्छ । तर कथाकारले त्यस मार्मिक घटना, दृश्य वा कथनलाई कथाको रुप दिँदा अनिवार्यरुपमा देशको समय, काल र परिस्थितिलाई ध्यान दिएको हुनुपर्दछ ।

पछिल्लो समयका कथामा के देखिरहनुभएको छ ?

हाम्रा श्रद्धेय कथाकार गुरुप्रसाद मैनाली, पुस्करशम्शेरका पालाका जस्ता कथाहरुमा केही फरक धार विशेश्वरप्रसाद कोइरालाले ल्याएका हुन् । यस्तै पछिल्लो समयका कथाकारहरुले पनि कथा लेखनमा फरक धार ल्याएका छन् । र अत्यन्त सुरुचिपूर्ण तवरमा ऊर्जामूलक कथा लेखेका छन् । नेपाली कथा साहित्यको निम्ति यो उपलब्धिमूलक छ ।

कथामा गरिएको नवीन प्रयोगलाई के भन्नुहुन्छ ?

विज्ञानको सहाराले अहिले विश्व सानो शहरमा परिणत भएको छ । गुगलमार्फत विश्वका कुनै पनि लेखकका कुनै पनि पु्स्तक सजिलै पढ्न सकिन्छ । अध्ययन मननको आधारमा मार्मिक घटना, दृश्य वा कथनलाई वा आफ्ना अनुभूतिलाई सुन्दर र नवीन तौरबाट कथामा रुपान्तरण गर्न नेपाली कथाहरु सक्षम छन् ।

अहिले लघुकथाले पनि व्यापकता लिएको छ । कथा र लघुकथाका बारेमा तपाईंको धारणा के छ ?

निश्चय पनि लघुकथाले व्यापकता लिएको छ । लघुकथाका विभिन्न संस्थाहरु खोलिएका छन् । प्रशिक्षण दिइएका छन् । यो खुसीको कुरा हो । कथा र लघुकथा बारेमा मेरो धारणा– ‘विषयवस्तु, भाषाशैली, कौतुहलता, संवाद र उद्देश्यहरु दुवैमा समानता हुन्छ । तापनि, कथा र लघुकथामा केही भिन्नता छन् । कथा लामो हुन्छ । विषयवस्तु व्यापक हुन्छ । व्यङ्ग्यको कमी हुन्छ । पढ्न धेरै समय लाग्छ । लघुकथा छोटो हुन्छ । बढीमा ३०० शब्द, विषयवस्तु सुक्ष्म हुन्छ । व्यङ्ग्य तीव्र हुन्छ । पढ्न समय थोरै लाग्छ ।

लघुकथा समाजबाट सम्मानित हुनुभएको छ, कस्तो अनुभव भइरहको छ ?

आफ्नै सानो सेरोफेरोमा रमाउँने म कहाँबाट राजधानीको आँखा म माथि परे ? छक्क परेको छु । लेखनमा पुरस्कार र सम्मानको आबा हुँदैन । लेखन त लेखकको धर्म कतव्र्य हो । लेखकको हैसियतले त्यही निर्वाह गरेको हुँ । लघुकथा समाज नेपालले मलाई लेखनको निम्त्ति थप उर्जा प्रदान गरेको छ । यसको निम्त्ति म लघुकथा समाज नेपालका सबै पदाधिकारीहरुका साथ अध्यक्ष श्रीओम श्रेष्ठ रोदनका साथै पद्यम–रामचन्द्र लघुकथा सम्मानका संस्थापकज्यूहरुप्रति हार्दिक आभारका साथ कृतज्ञता प्रकट गर्दछु ।

तर लघुकथाको पठनमा त्यति ध्यान किन नगएको होला पाठकको ?

लघुकथा पठनमा त्यति ध्यान नगएको भन्न चाँही मिल्दैन । राम्रा र उत्कृष्ट लघुकथाहरु पाठकले खोजी खोजी पढी हाल्छन् । तर लघुकथा प्रेषणको नाममा एउटै लघुकथाकारले सामाजीक सञ्जालमा भएभरका लघुकथाहरु पोष्ट गर्दा कतिपय हल्का लघुकथाप्रति पाठकको मन नपरेको पक्कै हुनु पर्दछ ।

कथामा कलम चलाउँदै आएका नयाँ कथाकारहरूलाई के भन्नुहुन्छ ?

स्वदेश, विदेशका कथाकारहरुको कथाहरुको अध्ययन मनन् र देशको समय, काल, परिस्थिति माथि अन्तरदृष्टि राखी कथा लेखिएमा त्यस्ता कथा लोकप्रिय हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्