काठमाडौं । जारी केन्द्रीय कमिटी बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन कुनै पनि हालतमा बेठिक नरहेको जवाफ दिएका छन् ।
बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटनको कारणबारे स्पष्ट पार्न र प्रतिवेदनमा उल्लेख गर्न भनेपछि ओलीले जवाफ दिने क्रममा ताजा जनादेशमा जाने कुरा कहिलेपनि बेठिक नहुने भन्दै आफ्नो बचाउ गरेका हुन् । जवाफ दिने क्रममा ओलीले भने– ‘ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’
बैठकमा माओवादीसँग पार्टी एकता गर्नुको कारण र नेकपा खारेजको विषयमा समेत प्रश्न उठेको थियो । जवाफ दिने क्रममा ओलीले माओवादीसँग पार्टी एकता सोचि विचारी नै गरेको बताएका छन् । उनले भने– ‘माओवादीसँगको एकता सोचिविचारी नै गरेको हो । तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन ।’
तत्कालनी नेकपा यतिखेर एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी गरी तीन पार्टीको रुपमा विभाजन भएको छ । माओवादी र एकीकृत समाजवादीले नेकपा खारेज हुनुको कारण ओली मुख्य कारक भन्दै आएका छन् । तर, ओलीले भने आफ्नो कदमको बचाउ गर्दै आएका छन् ।