काठमाडौं । राजनीतिक, संगठनात्मक र विधानसम्बन्धी तीन प्रस्ताव पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । तर, बैठकमा १० बुँदे प्रस्ताबारे केही छलफल भएन ।
तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विभाजन गर्दै नयाँ पार्टी गठन गर्दा एमालेमै रहने भन्दै फर्केका तेस्रो धारका नेताले १० बुँदे कार्यान्वयनबारे बैठकले विषेश निर्णय गर्नुपर्नेमा जोड दिएका थिए । तर, १० बुँदे कार्यान्वयन एजेण्डसमेत बन्न सकेन ।
बैठकमा तेस्रो धारका नेताले १० बुँदे कार्यान्वयनको विषय उठाएका थिए । तीनै प्रस्तावसँग सम्बन्धित विभिन्न विषयमा छलफल भए पनि १० बुँदे कार्यान्वयनबारे छलफल नै हुन सकेन । १० बुँदेबारे छलफल नभएपछि उपाध्यक्ष भीम रावलले त बैठक नै बहिस्कार गरे ।
तेस्रो धारका नेताले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।
१० बुुँदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाइएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।