काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पोखराको मणिपाल अस्पतालबारे स्पष्ट जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले उक्त अस्पताल बिक्री भएको हो कि होइन ? भन्नेबारे स्पष्ट जानकारी दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
गत भदौ ११ गते उक्त अस्पताल ३ अर्ब २५ करोड रुपैयाँमा खरिद-बिक्री सम्झौता भएको थियो । समितिले त्यसबारे जानकारी गराउन समितिले मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तिले भनिन्, ‘ बेचबिखन भन्ने आइरहेको छ त्यो के हो ?’
समितिले शिक्षा मन्त्रालयलाई उक्त अस्पतालको खरिद–ब्रिकी सम्झौतापत्र समेत मागेको छ । सभापति घर्तीले भनिन् ‘मणिपालको कुरा कम्पनीमार्फत गराएको हो । मन्त्रालयले हामीलाई सम्झौतापत्र उपलब्ध गराओस् । शिक्षा मन्त्रमालयलाई यो निर्देशन समिति दिन चाहन्छु ।’
बैठकमा पूर्वस्वास्थ्थमन्त्री समेत रहेका नेकपा एमालेका सांसद खगराज अधिकारीले आफूले सम्झौतापत्र सरकारी अधिकारीहरुसंग माग गरेको तर, नपाएको बताएका थिए । तथापि, सम्झौता हुँदाका बेला कतिपय सन्दर्भम आफूसमेत संलग्न भएको उल्लेख गर्दै उनले मणिपाल बेचबिखन हुन नसक्ने बताए ।
मणिपाल शिक्षण अस्पतालको व्यवस्थापन समूहले पोखराकै बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेजका नारायण पौडेल मिलेर बनाएको बपो होल्डिङ्स नामक कम्पनीसँग ‘सेयर पर्चेज एग्रिमेन्ट’ गरिसकेका छन् ।