काठमाडौं । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ । भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत भएको थियो ।
बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन् । उक्त भवनमा असोज ४ गते रातिदेखि प्रहरीले ताला लगाएको छ। भवन कब्जा गर्न गत असोज ४ गते साँझ दुई पक्षका कर्मचारीबीच भिडन्त भएपछि प्रहरीले भवनमा ताला लगाएको हो । भिडन्तमा उत्रेका कर्मचारीहरूलाई प्रहरीले केहीबेर नियन्त्रणमा समेत लिएको थियो ।
२०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री भएका बेला तत्कालीन सरकारले निजामती कर्मचारी संगठनलाई कार्यालय भवन बनाउन १४ आना जग्गा भोगाधिकारको लागि दिएको थियो । सरकारले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दल निकट चारवटा कर्मचारी संगठनलाई एकरएक रोपनी जग्गा भोगाधिकारका लागि उपलब्ध गराउने निर्णय गरेको थियो ।
सोअनुसार अन्य तीन कर्मचारी संगठनलाई एकरएक रोपनी जग्गा दिइएको थियो भने निजामती कर्मचारी संगठनलाई १४ आना जग्गा उपलब्ध गराएको थियो । सरकारले उपलब्ध गराएको जग्गामा २०६७ सालमै तत्कालीन प्रधानमन्त्री खनालले भवन निर्माणका लागि शिलान्यास गरेका थिए ।
भवनको निर्माण काम पूरा भएपछि २०७३ कात्तिकमा माधव नेपाललको भवनको उद्घाटन गरेका थिए । संगठन विभाजित भएपछि संगठनको कार्यालयलाई दुवै पक्षले आफ्नो भएको दाबी गर्दै अर्को पक्षले गुण्डागर्दी शैलीमा भवन कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।